Tuesday, October 22सत्यम खबर
Shadow

चन्द्रबहादुरको टाउको भेटियो सेप्टिक ट्यांकीमा

नेपालगन्ज, २८ असोज – विजयादशमीको रात हत्या गरिएका बाँके कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको सेप्टिक ट्याङकी भित्र फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार चन्द्रबहादुरको काटिएको टाउको घटनास्थलबाट झन्डै ५ सय मिटर पर घरको सेप्टिक ट्यांकी भित्र फेला परेको हो ।

हत्यामा प्रयोग भएको हँसिया पनि सेप्टिक ट्यांकीमै भेटिएको एसपी कार्कीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट रोल्पा घर भई पिपिरीमा बहिनीको घर बस्दै आएका २७ वर्षीय अनिल परियारको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका प्रहरीहरूले जानकारी दिए ।
टाउको भेटिएको सेप्टिक ट्यांकी अनिलकी बहिनी अनिताको घरको हो। अनिल भने फरार रहेको र उनको खोजी भइरहेको एसपी कार्कीले जानकारी दिए ।

विजयादशमीका दिन चन्द्रबहादुर र अनीलले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसक्रममा उनीहरूबीच विवाद उत्पन्न भएपछि अनिलले धारिलो हतियार प्रहार गरी रामचन्द्रको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

रामचन्द्रको टाउको र शरीर अलग भएपछि अनिलले प्लाष्टिकको झोलामा राखेर टाउको लिएर गएको दृश्य सिसिटिभी फुटेजबाट देखिएको थियो ।

सोमबार अनिल बस्दै आएको घरमा प्रहरी पुगेको थियो । सोही क्रममा शंकास्पद देखिएपछि प्रहरीले सेप्टिक ट्यांकी खोलेर हेरेको थियो ।

टाउको भेटिएपछि प्रहरीले अनिलकी बहिनीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

फरार रहेका अनिल यसअघि वैशाखमा मात्रै जेलबाट रिहा भएको खुलेको एसपी कार्कीले जानकारी दिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भई जेल सजाय काटेर रिहा भएका थिए ।
चन्द्रबहादुरको टाउको बिनाको शब प्रहरीले आइतबार बिहान पौने दुई बजेतिर फेला परेको थियो । हत्या गरिएका चन्द्रबहादुर ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन् ।

टाउको बिनाको शव पोष्टमर्टमका लागि भेरि अस्पताल नेपालगन्जमा लगिएको थियो । फेला परेको टाउको पनि अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *