
नेपालगन्ज, आज भएको बस दुर्घटनाका घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ ।
घाइते मध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए ।
बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो ।
अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ । घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन् ।
दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएको थियो ।
कोहलपुर–नेपालगन्ज सडक खण्डमा तीव्र गतिको बसका अगाडिका पट्टा एकाएक भाँचिएपछि बस अनियन्त्रित भई खण्डमै पल्टिएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी डाँगीले बताए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।