
नेपालगन्ज, ८ कार्तिक – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफूहरूलाई कोरोनाभाइरसको संक्रमण भएको जानकारी भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका छन् । भट्टराई दम्पत्तीको स्वाब शुक्रबार परीक्षणका लागि दिइएको थियो ।
‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,’ भट्टराईले भनेका छन् ।
पछिल्लो समय भट्टराई गोरखा र मधेसका जिल्लाहरूमा पार्टी प्रवेशको कार्यक्रममा व्यस्त थिए ।
सयौं कार्यकर्ता सहभागी भएका ती कार्यक्रममा मास्क र भौतिक दूरीको पालना नभएको भन्दै आलोचना समेत भएको थियो ।

