बाँके,१३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका दुईवटा प्रथामिक स्वास्थ्य केन्द्रलाई १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको छ । मन्त्रालयले बैजनाथ गाउँपालिकाको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर गाउँपालिकामा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका रामबहादुर चन्दले जानकारी दिए ।
बाँकेको खजुरा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका लागि प्रर्याप्त भौतिक पुर्वाधार सम्पन्न भएका कारण यसअघि नै अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि माग हुँदै आएपनि मन्त्रालयले सो प्राथमिक स्वास्थ्य चौकीलाई भने अस्पतालको रुपमा स्तरउन्नती गर्ने लिस्टमा पर्न सकेको छैन ।
यसैगरी मन्त्रालयले स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय समेत गरेको छ । बाँकेको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण हुनेछ ।
छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।
जसलाई मन्त्रालयले टाइप १ अन्तर्गत राखेको छ । त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडा वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई टाइप २ मा राखिएको छ । टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन ।
