नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको वडा नं. ६ लाई नियाल्दा कतिपय पक्षमा पछाडी परेको अवस्था देखिन्छ भन्ने जनगुनासो वडाबासीहरुमार्फत आईरहेको पाईन्छ भने कतिपय अवस्थामा क्रमशः सुधार हुँदै गईरहेको समेत मिश्रित भनाई आईरहेको छ । फुल्टेक्रा वडा नं. ६ विकासमा पछाडी हुनु वडाबासीहरु भित्र खिचातानीलाई लिन सकिन्छ । वडाबासीहरुको भनाई अनुसार धेरै नेताहरु भएको अवस्थामा विकासले गति लिन नसकेको बताउँछन् ।
फुल्टेक्राको कुरा गर्नु पर्दा वडा भित्र दशौं पुरानो रहेको फुल्टेक्रा माध्यमिक विद्यालय कर्नरदेखि फुल्टेक्रा चोक अस्थाई ट्राफिक पोष्टसम्म विगत कैयौं वर्षदेखिको प्रयासले बाटो निर्माण हुन सकेको स्थानीयहरुको भनाई रहेको छ । एक चरणमा दुबै तर्फ ५८० मिटर नाला निर्माण गरिएको छ भने त्यसको २ वर्षपछि त्यसमा आरसीसी बाटो निर्माण भएको अवस्था देख्न सकिन्छ । उक्त कार्यहरु गर्दा स्थानीयहरुबाट पटक पटक अवरोधहरु श्रृजना नभएको पक्कै होइन तर अवरोधहरु पार गर्दै हाल विगतमा निर्माण गरिएको दुबै तर्फ नालामाथि ढक्कन लगाउने कार्य भईरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले– “स्थानीय निकायको निर्वाचत पश्चात आफू वडामा निर्वाचित भएर आएदेखि वडाको धेरै पूर्वाधारहरु निर्माण गर्नुका साथै मठमन्दिरहरुलाई समेत संरक्षण गरेको बताउँदै स्थानीय धार्मिक पर्यटकीय स्थल श्री हडिया बाबा आश्रम तथा सोही भित्र रहेको राधाकृष्ण मन्दिरमा समेत केही बजेट विनियोजित गरी कार्य गरेको जानकारी गराउनुभयो ।”
अध्यक्ष सिंहले– “फुल्टेक्रामा शैक्षिक सुधारतर्फ समेत सदैव प्रयासरत रहँदै आउनुका साथै फुल्टेक्रा माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भईरहेको अवस्थामा शिव पर्वती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, संरक्षणक समाजसेवी माधवराम बर्मालाई अनुरोध गर्दा उहाँले जग्गादाता स्व. बाबुराम कुर्मी कित्ता नं. ६७ ज.वि. १४ कठ्ठा १५ धुर जग्गा विद्यालय सञ्चालनको लागि प्रदान गर्नु भएको थियो । जहाँ हाल भवन निर्माण गरी विद्यार्थीहरुलाई पठन–पाठन गर्न सहज भएको बताउनुभयो ।”
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा गाउँ मात्र नभई यस ०८०/०८१ को बजेटबाट वडा भित्र निर्माण सम्पन्न भई ढक्कन नलगाईएको सम्पूर्ण नाला माथि ढक्कन लगाउने भनी बजेट विनियोजित गरिएको थियो । वडा ६ का वडा सचिव मदनबहादुर रावतले दिएको जानकारी अनुसार नालामाथि ढक्कन लगाउन वडाबाट ४७ लाख ५० हजार बजेट विनियोजित गरिएको थियो । जस मध्ये ३१ लाख ९० हजार ६ सय ७८ रुपैयामा जय नेपाल कन्स्ट्रक्सनलाई बोलपत्र मार्फत ठेक्का दिईएको बताउनुभयो ।
वडा सचिव रावतका अनुसार विगत कैयौं वर्षदेखि नाला निर्माण भएपनि नाला माथि ढक्कन नभएको जनगुनासो वडा भेलामा समेत आएको हुँदा यस पटकको बजेटमा हामीले पहिलो प्राथमिकता साथ निर्माण भएको नाला माथि ढक्कन लगाउने भनी बजेट छुट्टाएका थियौ र सोही अनुसार असार मसान्तसम्म उक्त कार्य सम्पन्न हुने बताउनुभयो ।
यस बारे जय नेपाल कन्स्ट्रक्सनका सञ्चालक नन्दराम तिवारीले– “हामीले ठेक्का पाए अनुसार हाल काम अगाडी बढाई रहेको अवस्था भएपनि उक्त काममा अवरोध गर्ने प्रयास केही तत्वहरुले गरेको हुँदा सम्बन्धित वडा कार्यालय तथा वडा प्रहरी कार्यालयमा जानकारी गराईएको छ । केही दिन अगाडी मात्र म निर्माणाधित स्थलमा खडा रहेको बेला केही नचिनेका केटाहरु आई एक्कासी मलाई पिटाई गरेको हुँदा सुरक्षाको माग गर्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।” सञ्चालक तिवारीले हामीले उपमहानगरपालिका को स्टीमेट अनुसार काम गरिरहेको बताउनुभयो ।
स्थानीय अलीअसगर बेहनाले– “फुल्टेक्रा टोलको ६ मिटर बाटो नालासहित निर्माण गत वर्ष नै भएपनि नाला माथि ढक्कन नहुँदा टोलका बच्चाहरु, फुल्टेक्रा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आउने–जाने, खेल्ने क्रममा दुर्घटना ग्रस्त हुँदै आईरहेको स्मरण गराउँदै हाल वडाले दुबैतर्फ नाला माथि ढक्कन लगाउने थालनी गरेको हुँदा राम्रो कार्य गरेको बताउनुभयो ।”
यसैगरी स्थानीय घनश्याम गुप्ताले– “फुल्टेक्रा टोल जस्तै समस्या जाजरकोटी टोलमा समेत रहेको हुँदा हाल उता पनि नालामाथि ढक्कन लगाउने कार्य जारी रहेको हुँदा कार्य राम्रो भएपनि वडामा विनियोजित बजेट गतवर्ष झैं फ्रिज भएर फिर्ता जानुभन्दा सो बजेटलाई समेत बाटो निर्माण, नाला निर्माण लगायत वडा विकास निर्माण कार्य मै लगाउँदा आउने समयमा वडाबाट ग्राभेलको लागि विनियोजित बजेटलाई अन्य विकास कार्यमा लगाउन सक्ने सुझाव दिनुभयो ।”