नेपालगन्ज, ६ जेठ – नेपालगन्जको गर्मी प्रायः यस क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारणदेखि कुलर ऐसीमा बस्नेहरुलाई समेत जानकारी भएकै हो तर समस्या त्यहाँ आईपरेको हुन्छ जब प्राकृतिकले तापक्रम ४२ डिग्री गरिरहेको हुन्छ र बीचमा विद्युत कार्यालयले बिना सूचना बिद्युत कटौती गरिरहेको पाईन्छ ।
नेपालगन्ज विद्युत प्राधिकरणले केही दिनदेखि लगातार बिद्युत कटौती गर्दै आईरहेको पाईन्छ । सूचना एउटा निकालेको हुन्छ भने त्यसको विपरित बिद्युत काटिरहेको पाईन्छ ।
यस ४२ डिग्रीको तपक्रममा पटक–पटकको विद्युत अवरोध हुँदा नेपालगन्जबासीहरुको पीडालाई महसुस गरी राप्रपा नेपाल जिल्ला कार्यसमिति बाँकेले ज्ञापनपत्र नै बुझाएको छ ।
राप्रपा नेपालद्वारा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालगन्ज विद्युत प्राधिकरणबाट बाँके जिल्लामा प्रशारण गरिने विद्युत आपूर्तिमा पटक पटक अवरुद्धता हुने गरेको सम्बन्धित सबैमा जगजाहेर नै छ । नेपाल कै अत्याधिक गर्मी हुने सिमित जिल्लाहरु मध्येको बाँके जिल्लामा विद्युत प्राधिकरणले अदुर्दर्शिता, ढिलासुस्ती, चरम जापरवाही र गैरजिम्मेवारीपनको कारण विद्युत आपूर्ति बेला–बेलामा अवरुद्धता हुने गर्दा जिल्लाबासीहरु प्रत्येक वर्ष झै यस वर्ष पनि प्रताडित हुने गरेको छन्’ ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
अगाडी लेखिएको छ ‘विद्युत प्राधिकरणले लापरवाही र गैरजिम्मेवारीपनको कारणले गर्दा अहिलेको प्रचण्ड गर्मीको अवस्थामा पनि नेपालगन्ज लगायत बाँके जिल्लाका विभिन्न स्थानहरुमा विद्युत आपूर्तिमा नियमितता नगरिएकोले जनताहरु मर्कामा परेको अवस्था छ । प्रत्येक वर्ष गर्मीको मौसम सामना गर्नु परिरहेको यस खाले समस्याको समाधानको लागि विद्युत प्राधिकरण जस्तो जिम्मेवार निकायले जिल्लाबासीहरु सँग छलफल गर्ने नगरेको, जिल्लालाई कति परिणाममा विद्युत आपूर्तिको आवश्यता छ भनेर सम्बन्धित माथिल्लो निकायसँग समस्या समाधानको लागि पहल नगरेको, उपभोक्ताहरुलाई सुसूचित नगरी विद्युत प्रशारण बन्द गर्ने जस्तो गैरजिम्मेवार हर्कत गर्ने गरेको सम्बन्धी राप्रपा नेपाल, बाँकेको गम्भिर ध्यानाकर्षण भएको । अतः नेपालगन्ज विद्युत प्राधिकरणलाई विद्युत आपूर्तिमा नियमितता ल्याउनको लागि तपसिल बमोजिमको ध्यानाकर्षण गराउँछौं’’ उल्लेख गरिरहेको छ ।
अन्त्यमा ‘नेपालगन्ज लगायत बाँके जिल्लाका विभिन्न स्थानहरुमा अघोषित रुपमा गराउँदै आएको लोडसेडिङ एक हप्ता भित्र अन्त्य गर्न, कुनै स्थानमा उचित कारणबस केही समयका लागि विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएमा उपभोक्ता वर्गलाई पूर्व सुसूचित गर्नुपर्ने, प्रत्येक हप्तामा विद्युत प्राधिकरणले विद्युत प्रशारणको अपडेट कुनै स्थानिय पत्रिकामार्फत सार्वजनिक गर्नुपर्ने । राप्रपा नेपाल बाँकेद्वारा ध्यानाकर्षण गराईएका जनपक्षीय सरोकारका सवालहरु प्रति सम्वेदनशिल भएर सम्बोधन गर्न राप्रपा नेपाल बाँके जोडदार मांग गर्दछ । अतः एक हप्ता भित्र नै नेपालगन्ज लगायत बाँके जिल्लाको लोडसेडिङ अन्त्य गर्न अनुरोध गर्दछौं । विद्युत प्राधिकरणद्वारा जनपक्षीय सवालहरु प्रति हुँदै गरेको गैरजिम्मेवार व्यवहार नरोकिएमा राप्रपा नेपाल बाँके कठोर रुपमा प्रस्तुत हुन बाध्य हुने पनि जानकारी गराउँदछौं’ भनी उल्लेख गरिएको छ ।