काठमाण्डौ, २ बैशाख – गत असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले भनेका थिए, पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत हो। बिआरआइको उपहार हो।
चाइनिज इन्जिनियरिङहरूबाट निर्माण भएको यो विमानस्थलमा १५ महिनासम्म व्यवसायिक उडान भएका छैनन्। चीनले त्यतिखेर बिआरआइको उपहार भने पनि नेपालले भने ठूलो मूल्य चुकाइरहेको छ ।
पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ। जुन ऋण तिर्न नेपाल उड्यन प्राधिकरणलाई हम्यहम्य परिरहेको छ किनकी उडान नहुँदा विमानस्थलको आम्दानी नै छैन। क्यानले पोखराका साथै क्यानको अन्य स्रोत र अन्य विमानस्थलबाट भएको आम्दानीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज तिरिरहेको छ।
योबीचमा सरकारले ऋणलाई अनुदानमा बदल्न हरसम्भव प्रयास पनि गरेको छ। हालै मात्र चीन भ्रमणमा गएका उपप्रधान एवं परराष्ट्रमन्त्रीले यही सन्देश सुनाएका थिए। तर, चीन राजी भएको छैन।
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिईबीचको सम्झौतापछि १८ साउन ०७३ देखि यो विमानस्थल निर्माण सुरु भएकामा लागत पनि निकै बढाएको छ। लागत बढेर २६ अर्ब पुगिसकेको छ।
पोखरा विमानस्थल बनाउन निकै महँगो मूल्यमा ऋण लिएर लागत पनि अचाक्ली बढाइएको थियो। यो थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। क्यानका महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिइसकेको छ। नेपाल पाना