Sunday, February 9सत्यम खबर
Shadow

बाँकेमा १४१ औं विश्व क्षयरोग दिवस मनाइयो

नेपालगन्ज, १३ चैत – १४१ औं विश्व क्षयरोग दिवसका अवसरमा बाँकेमा विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने यस वर्षको विश्व क्षयरोग दिवसको नाराका साथ नेपालगन्ज र कोहलपुरमा सचेतनामूलक ¥याली, अन्तरक्रिया तथा सभाको आयोजना गरि मनाइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र नेपाल क्षयरोग संस्था बाँके लगायत विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा नेपालगन्जमा आयोजित जनचेतनामूलक ¥यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरु क्षयरोग सम्बन्धि विभिन्न सन्देशमूलक नारा लेखिएको सचेतनामूलक प्लेकार्ड सहित सहभागी भएका थिए ।


भेरी अस्पतालबाट शुरू भएको सो ¥याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन कार्यक्रममा परिणत भएको थियो । समापन कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगन्ज उपमहानगरमा सबैभन्दा धेरै क्षयरोेगी पत्ता लागेको बताउँदै सहकार्य बिना एकल प्रयासले मात्र क्षयरोगी पत्ता लगाउन र उपचारमा ल्याउन कठिन भएको बताउनुु भयो । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको उहाँको भनाई थियो ।


स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाही क्षयरोग मध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको बताउँदै लगातार दुई साता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने बताउनु भयो ।
क्षयरोग फोकल पर्सन रविन्द्रकुमार साहले बाँकेमा चालू आर्थिक वर्षको हालसम्म ५ सय ३९ जना क्षयरोगी थपिएको जानकारी दिनुभयो ।
सो अवसरमा विभिन्न संघसंस्थाहरुको तर्फबाट नेपाल क्षयरोग संस्था बाँकेका पूर्व अध्यक्ष पूर्ण लाल चुकेले स्वास प्रस्वासबाट फैलिने यो रोगबाट अहिले पनि हरेक वर्ष १७ हजारको अकालमा ज्यान गइरहेको तर्फ गम्भीर हुँदै सरकारले उच्च प्राथमिकता दिएर यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याएर कार्यान्वयन गर्नु आवश्यक छ भन्नुभयो ।


सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका पूर्व प्रमुख धीरजंग शाह, नेपाल क्षयरोग संस्था बाँकेका अध्यक्ष बदरुद्दीन अन्सारी, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय, बाँकेकी मलेरिया निरीक्षक दुर्गा गौतमले गर्नु भएको थियो । सोही दिवसको अवसरमा अपरान्ह स्वास्थ्य कार्यालय, बाँकेले पत्रकार अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेर बाँके जिल्लामा क्षयरोगको अवस्थाको बारेमा जानकारी दिइएको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।
यसैगरी बाँकेको कोहलपुरमा पनि ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने मुख्य नाराका साथ विश्व क्षयरोग दिवस ¥याली सहित कोणसभा गरी मनाइएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित ¥यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *