Thursday, March 12सत्यम खबर
Shadow

मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै

जनकपुरधाम : मिथिला क्षेत्रमा घन्किने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा!’ यस्ता गीतको रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैँं पर्वमा मिथिलानीहरूले (मिथिलाका नारी) सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको छ।

असुर प्रवृतिविरुद्ध सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने दशैँं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो। ‘दशैँं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन र देखिन छाडेको छ’ जनकपुर १४ का सुनिता सिंह बताउँछिन, ‘अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको छ।’

डिस्को बाजासँगै कर्कस स्वरमा गाउँनगर बस्तीमा सुनिने गीतप्रति सिंहले ब्यांग्य गरिन्। दशैँं लागेपछि देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिन सक्ने जनविश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकार गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिने गरिएको छ। दशैँं पर्व (नवरात्र) सुरु हुनासाथ यो गीत र नृत्य पनि प्रराम्भ हुन्छ मिथिलामा असंख्य स–साना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरूले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको पूर्व प्राज्ञ रामभरोष कापडि ‘भ्रमर’ ले बताए।

‘हुन त यो जनविश्वासको परम्परा हो’ कापडीले भने, ‘तर मिथिला संस्कृतिको अंग नै स्थापित भएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ।’  तान्त्रिक विधिको यो गीत-नृत्य अब एक समयको कथा जस्तो बनिसकेको कापडीको भनाइ छ। मिथिलाको पर्व विशेषमा देखाइने यो नृत्य मुलुकको तरल सुरक्षा अवस्थाले समेत हराउँदै गएको बुद्धिजीविको भनाइ छ। लगातार आन्दोलन, बन्द, हडताल र मारकाटका खबर सुनिरहँदा यो गीत र नृत्यमा रुचि हुने महिला पनि घरबाट निस्कन छाडेपछि यसको रौनक हराउँदै गएको वरिष्ठ पत्रकार विष्णुमणि खनालले बताए।

जनमनबाट हराउँदै गएको यो मिथिला संस्कृतिलाई विगत वर्षमा गैरसरकारी सामाजिक संघ संस्थाले यदाकदा देखाउने गरेका भए पनि अब यसमा खासै कसैले रुचि देखाउने गरेको पाइँदैन। मिथिला संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिनुपर्ने बूढापाकाको सुझाव छ।

अव झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिस्कृत गर्न सकिने युवा महिला सञ्चारकर्मी नेहा झाले बताउँछिन्। वर्षाैदेखि झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी जलेश्वर नगरपालिका २ की रामरती साह पनि साथी नथपिएपछि यसपाली झिझियालाई निरन्तरता दिन नसकेको बताए। उनले भने, ‘नयाँ पुस्ताका युवा छोरी-चेली यसप्रति वास्ता देखाउँदैनन्’ ५५ वर्षीया साहले भने, ‘अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरी सुनाउने स्थिति भइसक्यो।’  यद्यपि सो बस्तीकै निभा, बिमलासहितका नयाँ पुस्ताका किशोरी भने यो पुरानो मिथिला संस्कृति जोगाउन अव आफूहरू लागि पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *