Saturday, November 23सत्यम खबर
Shadow

‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना

नेपालगन्ज, ३ फागुन – शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उहाँको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिने छ ।
बाँके शिक्षा क्याम्पस नेपालगन्जमा आज बुधबार बसन्त पञ्चमीमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई उक्त पुरस्कार स्थापनाका लागि रु ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । क्याम्पसमा आज आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।


स्वर्गिय पाठक बाँके शिक्षा क्पाम्पसको संस्थापक, महेन्द्र बहुमुखी नेपालगन्जका क्याम्पस प्रमुख हुनुहुन्थ्यो । उहाँले नेपालगन्जमा बसेर लामो समयदेखि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको अभियानमा सक्रिय रुपमा भुमिका निर्वाह गर्नुभएको थियो । क्यान्सर रोगबाट पिडित पाठकको २०७८ साल साउन १७ गते निधन भएको थियो ।
क्याम्पसले उहाँको स्मृतिमा छात्रबृत्ति कोष समेत स्थापना गरेको छ । विद्यालयमा प्रारम्भिक कक्षादेखि १२ कक्षासम्म प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई वर्षभरि निशुल्क अध्ययन गराइने छ । त्यसका लागि गरीब, जेहेन्दार र लगनशिल विद्यार्थी मापदण्डका आधारमा छनौट गरिने स्वर्गिय पाठकका श्रीमती कृष्णा पाठकले बताउनुभयो ।
आज स्थापना गरिएको पुरस्कार स्वर्गिय पाठकको जन्मोत्सव तथा स्मृतिको अवसरमा प्रदान गरिने संस्थाले जनाएको छ ।

सरस्वती पुजा र सांस्कृतिक कार्यक्रम
सरस्वती पुजाको अवसरमा विद्यालयले आफ्नो प्राङ्गणमै विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवले शिक्षा क्षेत्रमा पुरानो र अव्वल विद्यालयको रुपमा परिचित बाँके शिक्षा क्याम्पसले अहिले प्रराम्भिक कक्षादेखि स्नातक तहसम्मको शिक्षा दिईरहेको प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले गुणस्तरिय शिक्षामा जोड दिदै बालबालिकाको शिक्षामा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, शिक्षा प्रेमी बलराम यादव, मुनिर अहमद खा, पंकज पाठक लगायतले बोल्नुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष पाठकले शिक्षा इकाई प्रमुख रामसुरेश यादव, पत्रकार राकेशकुमार मिश्र र नागरिक अभियन्ता रविन्द्रकुमार ज्ञवालीलाई सम्मान गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न नृत्यलगायतका प्रस्तुती गरेका थिए ।
२०५३ सालमा स्थापित विद्यालयले अहिले प्रारम्भिक कक्षादेखि कक्षा १२ सम्म, एक वर्षे विएड र ४ वर्षे विएडको अध्यायपन गर्दै आएको क्याम्पसका सञ्चालक अध्यक्ष पाठकले बताउनुभयो । पछिल्लो समय उक्त विद्यालयमा प्राराम्भिक कक्षामा विशेष प्याकेजको व्यवस्था गरिएको छ । भने सरस्वती पुजाको अवसरमा आज करिब ३० भन्दा बढी विद्यार्थीरुको निशुल्क भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *