
नेपालगन्ज, ६ माघ – गत आर्थिक वर्षमा ७०.३ प्रतिशत विकास खर्च विवरण पेश गर्ने गाउँपालिका भित्र अनावश्यक बिल भरपाई बनाई खर्च फच्र्यौट गरिएको आरोप लगाईएको छ ।
आज शनिबार डुडुवा गाउँपालिका वडा नं. ५ र ६ का वडाध्यक्ष मोहन मिश्रा, झंकबहादुर थापा तथा अन्य कार्यपालिका सदस्यहरु सहभागी भई आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त आरोपहरु लगाईएको छ ।
वडाअध्यक्ष मिश्राले आफूलाई अढाई–तीन लाख बराबर बिल पेश गर्ने आफर आएको तर आफूले त्यसो नगरेको हुँदा पालिका भित्र खर्च भएको ७०.
डुडुवा गाउँपालिका भित्र एउटा पनि फर्निचर खरीद नभएको अवस्थामा ३३ लाख बराबर फर्निचर कहाँबाट खरीद भयो ? अनावश्यक बिलहरु डुडुवा गाउँपालिका वडाहरुले पेश गरेर खर्च बढाईएको आरोप लगाएका छन् ।
हाम्रो उद्देश्य पारदर्शीता रहेको हुँदा पालिकाले डिजिटल युग भएको हुँदा गाउँसभालाई लाईभ गरेर जनता माझ पारदर्शीता ल्याउँदा नै बेस हुने बताउँदै आफूहरु पनि जनताबाट चुनिएको हुँदा यस अगावै वडालाई ५० लाख विकास योजना दिने सहमति भएको तर त्यसमा चासो नदिएको हुँदा हाल यस्तो अवस्थाको श्रृजना भएको बताउनुभयो ।

शुक्रबार पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले आयोजना गरेको पत्रकार भेटघाट बारे आफूले ७ वर्ष भित्र गरिएको ५, ६ वटा कार्यहरुको विवरण पेश गर्नु भयो तर विभिन्न पत्रपत्रिकाले पालिकाको अनियमितता बारे लेखेको समाचार बारे किन प्रष्ट पार्नु भएन ? भन्ने प्रश्न समेत गरेका थिए ।
६ वर्षदेखि पशु कार्ड, स्वास्थ्य कार्ड लगायत योजना देखाएका छन् तर त्यसबाट कुन किसानले कति लाभ पाएको छ त्यो किन देखाउन सकेका छैनन् । आफू नोकर भएर ६५ लाखको गाडी चढ्ने तर विभिन्न योजनाहरु कागजमा मात्र सीमित भएको वडाअध्यक्ष मिश्राले आरोप लगाउँदै यस पटकको बजेटमा १० लाखको चामल वितरण गरिएको बिल देखाईएको छ तर त्यो चामल, दाल कहाँ बाडिएको छ ? कसले लगेको छ ? त्यो विवरण किन सार्वजनिक गर्नु भएको छैन ? भनी प्रश्न गरेका थिए ।
हाम्रो हस्ताक्षरलाई दुरुपयोग गरिएको छ, हामीले जनताको हित स म्बन्धी कुनै पनि योजनालाई सकारात्मक रुपमा पास गर्न सहमति जनाउँदै आएको भएतापनि अन्य योजनाहरु बारे सूचना माग्दा समेत सूचना लुकाउने, सूचना बिहिन बनाउने कार्य पालिकाले गर्दै आएको आरोप लगाउनुभयो ।
जसपाका सीमित जनप्रतिनिधिहरुलाई व्यक्तिगत प्रलोभन देखाई आफू अनुकूल प्रयोग गरेको आरोप लगाउँदै उनकै काँग्रेस, जसपाका अन्य कार्यपालिका सदस्यहरु समेत पालिकाको गतिविधि बारे जानकारी नभएको बताउनुभयो । यस्तो अनियमितता, जंगली शासन भएको हुँदा नै हामी उनको प्रतिकारमा उत्रेको बताउनुभयो ।
डुडुवा गाउँपालिकाका अध्यक्ष चौधरीले आफ्नो मनोमानी तरिकाले पालिका चलाउन खोज्दा बारम्बार विवाद सृजना हुने गरेको छ । जहिले पनि आफु खुसी कार्यपालिका सञ्चालन गर्न खोज्दा स्थानिय जनप्रतिनिधिहरु गाउँसभा बहिष्कार तथा स्थगित हुने गरेको हो । यही माघ ४ गते गाउँपालिकाले गाउँसभाको लागि आफ्नो निकटलाई निम्तो ग¥यो । गाउँसभामा जनप्रतिनिधि तथा कार्यपालिका सदस्य समेत रहेका आफ्नो निकट बाहेक अन्यलाई गाउँसभामा नबोलाएको स्थानिय जनप्रतिनिधिहरुले बताएका छन् ।

‘हामीले राखेका मागहरु पूरा गर्न नसकिनेखालका छैनन, तर गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले कार्यपालिका चलाउँदा समस्या भएको छ ।’ वडालाई बार्षिक बजेटको सिलिङ दिनुपर्ने, वडा–वडामा योजना तर्जुमा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता समय मै वितरण गर्नुपर्ने, गाउँपालिकामा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाको यान्त्रिक सम्पत्ति दुरुस्त राखी सार्वजनिक गर्नुपर्ने मागसहित बारम्बार माग्दा समेत अध्यक्षले दिन नसकेको हुनाले गाउँसभा बहिष्कार गरेको वडा नं. ५ का वडाअध्यक्ष झंकबहादुर थापाले बताउनुभयो । पालिका अध्यक्षले जहिलेपनि जंगली सासन देखाउन खोजेको हुनाले यस प्रति हाम्रो असन्तुष्ट रहेको भन्दै गाउँसभा बहिष्कार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
डुडुवा गाउँ पालिकाको अध्यक्ष चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय गर्ने र निर्णयमा वडा अध्यक्ष समेतलाई जानकारी नगराई मनपरितन्त्रले पालिका सञ्चालन गराउन खोजेको भन्दै शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा डुडुवा गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष मोहन मिश्रले भन्नुभयो । स्थानिय तहमा एक्लौटी शासन चलाउन खोजेको र यसलाई रोक्न खोज्दा अनाहकमा बहुमतको दम्भ देखाएको भन्दै गाउँसभा स्थगित गर्ने गरेको वडा अध्यक्ष मिश्रले बताउनुभयो ।
नीतिगत रुपमा माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै पनि प्रतिक्रिया नदिने डुडुवाका वडाअध्यक्ष तथा वडासदस्यहरुलाई पालिकामा हुने गतिबिधीको बारेमा जानकारी नगराउने र छलफल गरौ भन्दा समेत अनेक थरी बहाना बनाई उपस्थिती समेत नगराएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरेका छन् । बारम्बार पालिकाको बैठकमा एकलौटी निर्णय पारित गराउन खोज्ने र आफुहरुलाई मान्य नभएपछि आफु निकट जनप्रनिधिहरुलाई खुसी बनाई हस्ताक्षर गराउने गरेको जनप्रतिनिधिहरुको भनाई छ । गाउँसभाबाट हस्ताक्षर गराउने त्यसपछि अर्को गाउँसभा नआएसम्म हामीलाई नचिन्ने गरेको डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य अबरानी यादवले बताउनुभयो ।
