Wednesday, April 22सत्यम खबर
Shadow

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भए चार महत्त्वपूर्ण सम्झौता : विद्युत व्यापारदेखि रकेट प्रक्षेपणसम्म

काठमाण्डौ, २२ पौष – नेपालका परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर दुई दिने भ्रमणका लागि नेपालको औपचारिक भ्रमणमा छन् । विकास साझेदारी सहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा गर्दै दुई मन्त्रीको सहअध्यक्षतामा विहीबार भारत–नेपाल संयुक्त आयोगको सातौं बैठक सम्पन्न भयो ।

सन् २०२१ को जनवरीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगका छैठौं बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको संयुक्त आयोगले प्रशंसा गर्यो । संयुक्त आयोगको बैठकपश्चात, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच निम्न सहमतिपत्र/समझदारीपत्रको आदान प्रदान भयो । नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीमा ५ करोडबाट बढाएर २० करोड रूपैयाँ पुर्याइएको छ ।

दीर्घकालीन ऊर्जा व्यापारका लागि भारत सरकार र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अन्तर्गत दश वर्षको अवधिमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यातको परिमाण १० हजार मेगावाटसम्म पुर्याउने र यसका लागि नेपालको जलविद्युत उत्पादन क्षेत्र र प्रसारण पूर्वाधारमा पारस्परिक लाभदायी लगानीलाई प्रोत्साहन गर्न सबै उपायहरु अपनाउने कुरामा दुवै पक्ष सहमत भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा निर्मित मुनाल स्याटेलाइटका लागि न्युस्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच प्रक्षेपण सेवा सम्झौता भएको छ ।

नेपाली विद्यार्थीले बनाएको यो स्याटेलाइट बिना शुल्क भारतीय प्रक्षेपण रकेटबाट प्रक्षेपण गरिने छ । एनटीपीसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जा विकासमा सहकार्यका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपत्रले एनटीपीसी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच नवीकरणीय ऊर्जामा सहकार्यका लागि खाका तयार पार्नेछ ।

भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुशाहा लाइनको दोस्रो सर्किट र नयाँ नौतनवा–मैनहिया लाइन गरी भारत र नेपालबीच रहेको तीनवटा १३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरे । त्यस्तै दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्प पीडितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौं चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरियो । उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसहरुका लागि २०० वटा प्रिफ्याब घरहरु, १२०० वटा ब्ल्याङ्केट, १५० वटा त्रिपाल र २००० वटा स्लीपिङ् ब्याग रहेका छन् ।

२०० वटा प्रिफ्याब घरहरु मध्ये २० वटा घरहरु आज हस्तान्तरण गरियो भने बाँकी घरहरु आउँदो केही साताभित्र विभिन्न चरणमा हस्तान्तरण गरिनेछन् । साथै, जाजरकोटमा हालै गएको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत सरकारले करिब नेरु. १००० करोड आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गर्नुभयो जसको ठूलो हिस्सा अनुदान सहायता अन्तर्गत रहने छ । भारतीय विदेशमन्त्रीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरे । यी भेटघाटमा पारस्परिक हितका द्विपक्षीय विषयमा कुराकानी भएको थियो ।

भारतीय विदेशमन्त्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरुसँग पनि भेटघाट गरे । नेपालका परराष्ट्रमन्त्रीले विदेशमन्त्रीको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका थिए । भारतीय विदेशमन्त्रीले आज भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा भूकम्पपछिका ५९ वटा पुनर्निर्माण परियोजनाको उद्घाटन गरेका छन् । भारतीय विदेशमन्त्री आज नै भारत फर्कने कार्यक्रम रहेको छ ।

‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत छिमेकीबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको हो । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *