Wednesday, April 15सत्यम खबर
Shadow

स्लो बाईक प्रतियोगिताको प्रथम उपाधी राजु खान तथा नबिना रावललाई

नेपालगन्ज, १४ पौष – बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि आयोजित नेपालगन्ज स्लो वाईक प्रतियोगिताको चौथो संस्करण सम्पन्न भएको छ ।
नेपालगन्जको न्यूरोडमा सम्पन्न चौथो नेपालगन्ज स्लो बाईक प्रतियोगिता २०८० पुरुषतर्फको उपाधी राजु खानले हात पारेका छन् भने महिलातर्फको उपाधी नबिना रावलले हासिल गरेका छन् ।
पुरुषतर्फ राजु खानले निर्धारित १०० मिटरको दुरी ७ मिनेट ०३ सेकेन्डमा पुरा गरेका थिए भने नबिना रावलले ३ मिनेट ३९ सेकेण्डमा पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको बिजेता भएसँगै खान र रावलले नगद रु.१५ हजार र प्रमाण पत्र हासिल गरेका छन् ।


बास नेपालको आयोजनामा भएको प्रतियोगितामा दोश्रो र तेस्रो स्थान पुरुषतर्फ क्रमशः सन्दिप यादब ६ मिनेट १२ सेकेण्ड र रजत सिंह सिजापति ५ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरेका हुन भने महिलातर्फ दिक्षा बुढाक्षेत्री ३ मिनेट १८ सेकेण्ड र लक्ष्मी काफ्ले ३ मिनेट २ सेकेण्डमा पार गर्दै दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन् । दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. १० हजार, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।


नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि श्रबणकुमार पोख्रेलले सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि स्लो वाईक प्रतियोगिता निकै उपयोगी रहेको बताए । उनले सवारी सुरक्षा र ट्राफिक नियमको पालना गरेमा दूर्घटना न्युनिकरण हुने भन्दै सबैले ट्राफिक नियमको पालना गरि सवारी साधन चलाउन अनुरोध गरे ।
आगामी दिनमा स्लो बाईक प्रतियोगिता थप तयारी सहित बृहत रुपमा गर्ने गरी तयारी गर्न प्रमुख जिल्ला अधिकारीले आयोजकलाई अपिल गरे । यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले स्लो बाईक प्रतियोगिता सचेतना मुलक कार्यक्रम भएकाले धेरैभन्दा धेरै नागरिकहरुसम्म सन्देस जाने गरी गर्नुपर्नेमा जोड दिए ।


बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकोे अध्यक्षतामा भएको प्रतियोगिताको सुभारम्भ प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पोख्रेलले सिटि फुकेर गरेका थिए । कार्यक्रममा निर्णायकको भूमिका ट्राफिक प्रहरी प्रमुख गोपी कृष्ण सुबेदी, एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्जका प्रबन्धक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले गरेका थिए ।


बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको छ ।
बासको आयोजनामा भएको कार्यक्रममा यातायात ब्यवस्था कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक कार्यालय बाँके, महालक्ष्मी अटो डिष्टीब्यूटर होण्डा शोरुम नेपालगन्ज, एमएस ट्रेड इन्टरनेशनल हिरो शोरुम नेपालगन्ज, पोखरा फाईनान्स लिमिटेड नेपालगन्ज, ग्लोबल आईएमई बैंक नेपालगन्ज, श्रेष्ठ ट्रेड हब कोहलपुर यमहा स्वरुम, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, डटवर्कस, सहयोगी मन बाँके र असल शासन मिडियाको सहकार्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *