Tuesday, April 21सत्यम खबर
Shadow

नेपाल–चीनको ऐतिहासिक मैत्रीपूर्ण सम्वन्धमा अन्यौल र सन्देह पैदा गर्ने काम

नेपालगन्ज, १७ भाद्र – नेपाल कम्युनिष्ट पार्टीले हालै सार्वजनिक गरिएको चीनको नक्सा बारे आपत्ति जनाउँदै नेपाल सरकारले गम्भिर भई आफ्नो पक्षलाई अन्तर्राष्ट्रिय स्तरमा राख्नुका साथै चीनसँग समेत राख्न माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीले एउटा विज्ञप्ती निकाल्दै ‘नेपालको सार्बभौमिक अखण्डता र स्वतन्त्रताप्रति सदैब संबेदनशील, सजग र सद्भावपूर्ण मानिदै आएको र बाह्य हस्तक्षेपका बिरुद्ध लामो र कठिन बलिदानपूर्ण संघर्ष झेलेर अघि बढेको चीनले आफ्ना पछिल्लो प्राकृतिक नक्सा बनाउँदा नेपालको अखण्ड भूभाग– कालापनी, लिपुलेक र लिम्पियाधुरा सहीतको चुच्चे नक्सालाई किन बेवास्ता गर्न पुग्यो त्यो यतिबेला एउटा अत्यन्तै गम्भीर प्रश्न खडा हुन पुगेको नेपाल कम्युनिष्ट पार्टीले ठानेको छ ।’ उल्लेख गरेको छ ।


अगाडी ‘यस सन्दर्भमा यदि नेपाल सरकारले छिमेकी देश चीन, भारत लगायत संयुक्त राष्ट्रसंघ जस्ता सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्था र नियोगहरुमा कूटनीतिक र अन्य उपयुक्त तथा मान्य प्रकृयाबाट नेपालको चुच्चे नक्सा उपलब्ध नगराएको र त्यसबारे जानकारी नदिएको हो भने त्यसप्रति नेपाल कम्युनिष्ट पार्टी घोर आपत्ति र क्षोभ व्यक्त गर्दछ र तत्काल नेपालको संसदले अत्याधिक बहुमतले अनुमोदन गरेको नेपालको चुच्चे नक्शा उपलब्ध गराउन र त्यसलाई सार्बजनिक गर्न नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ’ विज्ञप्तीमा उल्लेख गरेको छ ।
विज्ञप्तीमा ‘अन्यथा चीनको यस प्रकारको पछिल्लो कदमले नेपाल र चीन बीचको प्रायः बिवादरहीत लामो परस्पर मैत्रीपूर्ण सम्वन्धमा खलल पुर्याएको र नेपालको अखण्ड भू–भागप्रति भारतले झिक्ने गरेको आधारहीन बिबादलाई प्रश्रय दिएर नेपाल–चीन दुइ देश बीचको ऐतिहासिक कालदेखिको मैत्रीपूर्ण सम्वन्धमा अन्यौल र सन्देह पैदा गर्ने काम गरेको ठहरिन पुग्ने कुरा पनि नेपाल कम्युनिष्ट पार्टी प्रष्ट औंल्याउँन चाहन्छ’ उल्लेख गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा ‘यसलाई चीनले प्रष्ट र दृढतापूर्बक सच्याउनु पर्दछ र दुइ देश बीचको अक्षुण्ण मैत्री सम्वन्धलाई सही धरातलमा अझ बिस्तार र बिकसित गर्दै अघि बढाइनुपर्दछ भन्ने प्रष्ट धारणा नेपाल कम्युनिष्ट पार्टी राख्न चाहन्छ । नेपाल र चीन बिच सीमा लगायत अन्य बिषयमा समेत कुनै बिवाद या समस्या भए तिनलाई परस्पर मैत्रीपूर्ण कूटनीतिक बार्ताद्वारा सुल्झाएर अघि बढ्ने प्रकृयालाई जीबन्त राखेर जानु पर्दछ भन्ने पनि नेपाल कम्युनिष्ट पार्टीको सुस्पष्ट मान्यता छ’ उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *