
बुटवल, २० असोज – नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन् । राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन् ।
यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन् । व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए ।

‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन ग¥यो । हाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो । यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौ,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने ।
नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए ।
उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे ।
‘आफूहरूलाई धोका दिएको मतदाताको मानमर्दन गर्नुभयो त्यति मात्र होइन रुपन्देहीका संघ संस्थाले प्रदेश सरकारको स्थायित्वका लागि भौतिक संरचना उपलब्ध गरेको सहयोगको अवमूल्यन भयो’, उनले भने ।
