Friday, April 24सत्यम खबर
Shadow

एमसिसी परियोजना अन्तर्गत प्रसारण लाइन निर्माण गर्न मकवानपुरमा सुरू भयो जग्गा अधिग्रहण प्रक्रिया

काठमाण्डौ, १ भाद्र – एमसिसी सम्झौता अनुसारको परियोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ।

अमेरिकी सहयोग सम्झौता एमसिसी अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसिए –नेपालले) सम्झौता अनुसार ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया सुरू गरेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसन देखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप-महानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने जानकारी दिएको छ।

सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ।

यसअघि नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)मा जग्गा अधिग्रहणका लागि बिहीबार सूचना जारी भइसकेको छ।

एमसिसी परियोजनामा नुवाकोट, तनहुँ र परासीमा ४०० केभी क्षमताका तीन नयाँ सब-स्टेसन निर्माण हुने छन्। काठमाडौंको लप्सेफेदीबाट सुरू हुने प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौंडा जोडिनेछ। रातमाटेबाटै तनहुँको दमौली हुँदै परासी र त्यहाँबाट भारतको सीमासम्म पुग्नेछ।

झन्डै ३१५ किलोमिटरको यो प्रसारण लाइनमा एमसिसीको पैसाबाट ८५० वटा टावर बन्ने छन्।

त्यस्तै, एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिनेछ। यो सडक खण्ड झन्डै ७७ किलोमिटर छ। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *