
नेपालगन्ज, ७ श्रावण – नेपालगन्ज उपमहानगरपालिका भित्र केही दिनदेखि लगातार रूपमा सत्यमखबरकाे टीमले वडा कार्यालयहरूमा छड्के गर्दै जनसेवक कर्मचारीहरू कार्यालय समयमा आउने नआउने बारे रिपाेर्टिङ्ग गर्दै आईरहेकाे खबरले उपमहानगरपालिका बाहिर पनि असर गरिरहेकाे छ ।
बाँके जिल्लाकाे विकट गाउँपालिकाबाट चिनिएकाे नरैनापुर गाउँपालिका समेत नागरिक स्तरबाट कार्यालय समयमा सम्बन्धित कर्मचारीहरू समयमा आए नआएकाे समाचारहरू प्राप्त हुन थालेसँगै सत्यमखबर डटकमका कानुनी सल्लाहकार रामकुमार दीक्षितले आफ्नाे सार्वजनिक सञ्जाल फेसबुककाे प्रयाेग गर्दै शुक्रबारका दिन कार्यालय समयमा नआएका कर्मचारीहरूकाे नामावली खाली कुर्सीकाे फाेटाेसहित सार्वजनिक गर्नु भएकाे छ ।
कानुनी सल्लाहकार दीक्षितले “२०८०/०४/०५ गते शुक्रवार ११:०० बजेको नरैनापुर गाउँपालिका कार्यालय भित्रको ०५ वटा कुर्सीहरूको तस्बीर हो यो। कार्यालय समय १० बजे सम्म भएपनि यी कुर्सी टेबुलहरूका हकवालाहरू प्राय: ११:०० बजे सम्म खाली नै राख्छन यिनीहरूलाई । यी पाँचै महाशयहरू मनीराम खराल, नगेन्द्रकुमार शाह, भरत महतो, भरत बस्नेत र प्रकाश अधिकारी नरैनापुरका भाग्यबिधाता हुन।यी महाशयहरू कतिबेला आउने ? कतिबेला जाने ?कसैले पनि सोध्ने हिम्मत गर्न सकेको छैन आज सम्म। यिनीहरूको आफ्नै समयतालिका छ आउने र जाने।” भनी उल्लेख गरेका छन् ।
यता उपमहानगरपालिका वडा नं. ६ मा आईतबार बिहान १०:३० बजेसम्म ४ जना कर्मचारी तथा १ जना महिला सदस्य बाहेक काेही पनि नआएकाे समाचार प्रकाशनमा आईसकेकाे भएपनि सम्बन्धित अनुगमन संस्थाले आँखा बन्द गरि बस्दा आम सर्वसाधारण जनताले सास्ती भएकाे छ ।

वडा नं. ६ मा एक जना महिला छाेरीसहित सिफारिसकाे लागि पुग्दा अध्यक्ष नआएपछि छाेरीलाई कलेज जानू छ, अध्यक्ष ज्यु हुनुहुन्छ, अब पछि आएर सिफारिस गराैला भनी गुनासाे गर्दै फर्केका थिए ।
यसैगरी ज्येष्ठ नागरिकहरूले आफ्नाे भत्ता कार्ड रिनाे गर्न पुगेपछि कर्मचारी अभाव एकातिर थियाे भने अर्काेतर्फ सत्यमखबर डटकमलाई देखेर ज्येष्ठ नागरिक सेवाग्राहीहरूलाई वडा नं. ६ का कार्यालय सहयाेगी शान्ति बर्माले भाेलि पर्सि आउनु, आज किन भिड गर्नु भएकाे छ भनी तर्क गरेर दुर्व्यवहार गरेका थिए । तर सम्बन्धित नियमन निकाय कानमा तेल हाली बस्दा दिनाेदिन समयमा नपुग्ने कर्मचारीहरूकाे मनाेबल बृद्वि हुँदै गईरहेकाे वडाबासीहरूकाे भनाई रहेकाे छ ।
आम सर्वसाधारण जनतालाई जानकारी गराईन्छ, जनताकाे करबाट भुक्तानी पाउने कर्मचारीहरू तलब मात्र नभई प्रत्येक वर्ष बिनियाेजित हुने बजेटबाट, माेबाईल रिचार्ज, मासिक १० लिटर पेट्राेल, माेटरसाईकल मर्मत खर्च, नास्ता खर्च तथा विविध ठाउँमा गए बापत भ्रमण भत्ता जस्ताे शिर्षक राखी भुक्तानी लिंदै निर्वाचित जनप्रतिनिधिहरूकाे समेत मिलेमताे देखिएकाे छ ।
