
काठमाण्डौ, ३२ जेठ – नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले नयाँ संसद भवनमा राखेको नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन् ।
विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेपनि पहिलेको र अहिलेको भनि नछुट्याएको भन्दै त्यसबारेमा तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन माग गरे ।
उनले नक्साका बारेमा भारतीय विदेशमन्त्री र अन्य मन्त्रीहरूको अभिव्यक्ति फरकफरक आएको समेत बताए ।
नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर ‘संकल्प अखण्ड भारत’ लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए ।
‘के सरकारले चित्त बुझाएको हो ?’ उनले सोधे ।
पन्तले सीमा समाधानबारे भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले सदनलाई ढाँटेको बताए ।
उनले संसदमा एउटा भनेको तर पत्रकारहरूसँग अर्कै कुरा भनेकोले सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
कान्तिपुरमा भारतस्थित नेपाली राजदूत शंकर शर्माले नेपाललाई हिन्दु राष्ट्रको रूपमा वकालत गर्न खोजेको, बीआरआइ र इपिजीका बारेमा विवादास्पद अभिव्यक्ति दिएको बताए ।
‘इपिजी प्रतिवेदनबारे राजदूतले बोकेको बिचारले नेपालको प्रतिनिधिनत्व गर्छ ? सरकारको दृष्टिकोण हिन्दु राष्ट्रको नारालाई प्रोत्साहन दिने हो ? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो ? बिआरआईबारे राजदूतले भनेकै कुरा हो सरकारको धारणा ?’ उनले सोधे ।
यी सबै विषयमा सरकारले संसदलाई प्रष्ट पार्नुपर्ने उनले बताए। ‘प्रधानमन्त्रीले स्पष्ट नपारे थप पाइला चाल्नुपर्ने हुन्छ,’ उनले भने । सेतोपाटी