Saturday, November 23सत्यम खबर
Shadow

भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ : प्रधानमन्त्री

काठमाण्डौ, १६ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नयाँ ‘ए‍अर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको हिजाेको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’ बारे छलफल हुने बताउनु भएकाे हाे । उहाँले भ्रमणमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ ।

‘नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन’, उहाँले भन्नुभयो, ‘विधेयक उत्पत्ति भएको मन्त्रिपरिषदबाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । राष्ट्रपतिले यसको प्रमाणीकरण गर्नुहुन्छ भन्ने विश्वास छ ।’

उहाँले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको नीति तथा कार्यक्रमबारे स्मरण गराउँदै भालुवाङका नागरिकको लालपुर्जाको व्यवस्था त्यही रणनीतिअन्तर्गत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमि दर्ता गर्न लाग्ने शुल्क घटाउन सरकारले पहल गर्नेसमेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका विषयमा नयाँ ऐन बनाउने र नीतिगत भ्रष्टाचारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चुरे दोहन र तराई मरुभूमीकरणको विषयमा सरकार गम्भीर रहेको स्मरण गराउनुभयो । रुबी भ्यालीका विषयमा आवश्यक नीतिगत निर्णय लिएर अघि बढ्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि विदेशिने क्रम रोक्न सिधैँ गाउँपालिका केन्द्रित रोजगार तालिम सञ्चालन गर्ने र आउँदाे आवको बजेटमा यसबारे व्यवस्था गर्ने उहाँले बताउनुभयो । ‘विगतमा विभिन्न नाममा जुन अनुदान रकम पठाउने गरेका छौँ, त्यसको सदुपयोग भएन भनेर नै यो पटक हामीले त्यसखालका कार्यक्रम गाभेर एकीकृत कार्यक्रमका रूपमा सिधै गाउँपालिकाअन्तर्गत कार्यक्रम लागू गर्नेछौँ’, उहाँले भन्नुभयो ।

उहाँले आउँदाे आवको नीति तथा कार्यक्रम र बजेटबीच दुई महिनाको ‘ग्याप’ राख्ने सुझावप्रति नयाँ ढङ्गले सोच्न जरुरी रहेको भन्दै यसबारे सरकारले पहल गर्नेसमेत बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी, भ्रष्टाचारका विषयमा निष्पक्षरूपमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको संरक्षण र समस्या समाधानका लागि ऐन बनाएर विशेष ‘एक्सन टिम’ले समाधानको काम अघि बढाएकोसमेत जानकारी दिनुभयो ।

यस्तै रुग्ण उद्योग र बन्द उद्योग पुनः सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले रासायनिक मलबारे यसपटक समस्या नहुने दाबीसमेत गर्नुभयो ।

उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे सकारात्मक छलफल भइरहेको भन्दै पश्चिम सेती परियोजनाको डीपीआर तयार भइरहेको बताउनुभयो । सिकलसेल एनिमियाको समस्या समाधानमा बजेटमा व्यवस्था गरिने उहाँको भनाइ छ ।

चीन र नेपालबीचको सहमतिमा सुरु भएको माडी जलाशययुक्त आयोजना सात महिनायता बन्द रहे पनि नयाँ शिराबाट फेरि अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले दैलेखको पेट्रोल खानी, खेलाडीको संरक्षण, छोटी भन्सार, जुट खेती, दार्चुला टिङ्कर सडक निर्माण, सामाजिक सञ्जाल नियमन, यौनिक अल्पसङ्ख्यकको विषय, निजी र सार्वजनिक विद्यालयबीचको अन्तर कम गर्ने, रासायनिक मल कारखाना, सेती नदीको संरक्षण, धनगढी विमानस्थल र पशुपति विकास कोषको जग्गाको विषय सरकारको प्राथमितामा रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *