
नेपालगन्ज, ८ बैशाख – तेस्रो नेपालगन्ज फोटो फेस्टिवल आजदेखि दुई दिनसम्म नेपालगन्जमा हुने भएको छ । होटेल बाटिकाको हलमा फोटो प्रदर्शनी हुनेछ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा भ्रष्टाचार विरुद्द क्रियाशील संस्था बास नेपालले सहकार्य गर्दै आएको छ । ‘देशभरबाट प्रतिस्पर्धामा आएका फोटोहरुबाट उत्कृष्ट फोटोहरु छनोट गरिसकेका छौं –“निर्णायक मण्डलका संयोजक वरिष्ठ फोटो पत्रकार विकास कार्कीले भने, ‘विधागत रुपमा उत्कृष्ट फोटोहरु र वर्ष फोटो आजमात्रै घोषणा हुन्छ ।”
कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटो ग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले फोटो छनोट गरेको हो । हरेक विधामा उत्कृष्ट एक फोटो पुरस्कृत हुनेछ भने सबै फोटोबाट सर्वाेत्कृष्ट फोटोले वर्ष फोटो उपाधि सहित नगद पुरस्कार पाउँनेछ ।
जम्मा ९ विधा रहेका छन । यसैगरी सोही अवसरमा बाँके जिल्लाको विविध पक्ष झल्कने गरी नेपालगन्ज ग्यालरीसँगको सहकार्यमा अन्तरालले ‘१ से १ तस्विरमा बाँके फोटो प्रदर्शनी समेत गर्दैछ । फेस्टिवलका अवसरमा फोटोग्राफी कार्यशाला, अन्तरक्रिया र फोटोग्राफी टुर गरिनेछ ।
यी फोटोहरुलाई सार्वजनिक ठाउँमा पनि प्रदर्शनी गरिने आयोजक अन्तरालले जनाएको छ । ‘नेपालगन्जवासीको मायाले तेस्रो श्रृङखलामा आइ पुग्दा नेपालगन्ज फोटो फेस्टिवललाई देशव्यापी बनाउन सकियो, ‘आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, “सिंगो नेपालको जीवन्त तस्विर झल्कने फोटो प्रदर्शनी अवलोकनका लागि सवैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।”
