Friday, May 1सत्यम खबर
Shadow

चीन: छिमेकीका कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल

बेइजिङ, चैत २६ – चीनमा पुरानो भनाइ छ- बाँदरलाई तर्साउन कुखुरालाई मार। यो भनाइले शक्तिशालीलाई तर्साउन निर्धोको नष्ट गर भन्ने बुझाउँछ । यो भनाइलाई व्यवहारमा कार्यान्वयन गरियो भने के हुन्छ? चीनमा एक व्यक्तिले यस्तै गरेको घटना सार्वजनिक भएको छ ।
सिएनएनका अनुसार चीनको हुनान प्रदेशको हेङ्ग्याङ काउन्टीको एक अदालतले छिमेकीको ११ सय वटा कुखुरा मारेको अभियोगमा गू नाम गरेका व्यक्तिलाई ६ महिनाको जेल सजाय सुनाएको छ।
उनले छिमेकी झाङसँगको झगडाको बदला लिन पटक-पटक उनले पालेको कुखुरालाई तर्साएर मारेको अदालतले ठहर गरेको छ।
त्यहाँको एक स्थानीय पत्रिकालाई उद्बृत गर्दै सिएनएनले गू र झाङबीच एक वर्ष अघिदेखि झगडाको सुरूआत भएको उल्लेख गरेको छ। एक वर्षअघि अप्रिलमा झाङले गूलाई सोध्दै नसोधी उनको बारीका रूख काटिदिएका थिए।
त्यसपछि आक्रोशित बनेका गूले झाङलाई नोक्सान पार्न उनको कुखुरा फार्मलाई निशाना बनाउन थालेका हुन्। उनले सिधै फार्ममा प्रवेश गरेर कुखुरा मारेका भने होइनन्।
अनुसन्धानले बताएअनुसार गूले फार्म बाहिरबाट चम्किलो ज्योति भएको टर्चलाइट बालिदिन्थे। टर्चलाइटको तिखो ज्योतिका कारण तर्सिएर भाग्ने र कुनातिर एकै ठाउँमा थुप्रिने हुँदा कुखुराहरू च्यापिएर मरेका थिए।
गूले पहिलो पटक त्यस्तो हर्कत गर्दा झाङका पाँच सय कुखुरा मरेका थिए। त्यतिबेला उनी तीन हजार चिनियाँ युआन जरिवाना तिरेर रिहा भए।
पहिलो पटक भएकाले प्रहरीले पनि गूले झुक्किएर त्यस्तो गरेको हुनसक्ने बुझेर सामान्य जरिवाना तिराएर छाड्यो। तर, दोस्रो पटक पनि त्यस्तै हर्कतका कारण झाङका ६ सय कुखुरा मरेपछि विषय अदालतमा पुगेको हो।
दोस्रो घटनापछि भने गूले झाङलाई नोक्सान पुर्‍याउने बदनियत राखेर नै त्यस्तो हर्कत गरेको निष्कर्षमा अदालत पुगेको हो। अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो। ११ सय कुखुरा मरेपछि झाङलाई १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *