Friday, May 1सत्यम खबर
Shadow

प्रदर्शनी, नालीबेली र नाटीकुटी

– नगेन्द्र प्रसाद पौड्याल
(चित्रकला अध्येता तथा लेखक)

पुगनपुग २ वर्ष अगाडि, मध्य कोरोना सङ्क्रमण र प्रतिबन्धको समयक‍ो सन्दर्भ हो । लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सले कोरोना संक्रमणकै कारणले अनलाईन हैसियतको भएपनि अन्य सामाजिक कार्यहरू सँगसँगै आफ्नो विषयगत कार्य पहिलो ललितकला प्रदर्शनीको आयोजना गरिसकेको थियो । अब संस्थापक अध्यक्ष रमेश कुँवरले लायन्स क्लवको निर्वाचन-बैठक बोलाउने निर्णय पक्तिकारलाई सुनाए । उक्त बैठकबाट क्लवको नयाँ कार्यावधिका निमित्त नयाँ कार्यकारी समितिको चुनाव गर्नुपर्ने थियो ।

क्लवका सदस्यहरूका निमित्त लगभग पायक पर्ने बैठक-स्थानको चिन्तनले पक्तिकारलाई बेलाबेलामा सताईरहन्थ्यो । यसकारण पनि कि यसका लागि क्लवले निश्चित ठेगाना दिन सकिरहेको थिएन । तथापि काठमाण्डौ आर्ट्स होटल, ठमेल तथा त्यसका संस्थापक चिरञ्जीवी भट्ट वहुविध सम्भावनाहरूका लागि उपयुक्त हुने चिन्तन उनीमा पहिले देखि नै थियो । होटलका संस्थापक चिरञ्जीवी भट्टसँग उनको व्यवहारिक चिनजान थियो । पक्तिकारले बैठक सोही होटलमा गराउँने सुझाव गरें ।

निर्वाचन-बैठकको सर्वसम्मतिले पक्तिकारलाई क्लवको अध्यक्षमा छनौट गरेको निर्णय लियो । बैठकले चित्रकार राजेश मानन्धरलाई प्रथम उपाध्यक्ष र कीरण सिगुलाइ द्वितीय उपाध्यक्ष गरि अन्य सबै पदाधिकारीहरूलाई सर्वसम्मत गर्यो । तत्काल नै नवनिर्वाचित अध्यक्षले एउटा बृहत् ललितकला प्रदर्शनीको आयोजन गर्ने र सो आयोजना बैठक बसिरहेको होटलमा नै गर्ने प्रस्ताव प्रस्तावित गरे । उपाध्यक्ष राजेश मानन्धरका निमित्त जागीरसिर्जित असजिलाहरू थिए । उपाध्यक्ष कीरण सिगु केही स्वतन्त्र रहेको समेतका नाताले उनैलाई प्रदर्शनीको संयोजकको भूमिकामा गर्ने प्रस्ताव गरे । अबका दिनमा काठमाण्डौ आर्ट्स होटललाई नै क्लवको ठेगानाका रूपमा स्थापित गर्ने प्रस्ताव गरे र तत्काल नै होटलका संस्थापक चिरञ्जीवी भट्टसँग सम्वाद बनाई भट्टसमेत सबैबाट सम्मति हासिल गरे ।

कोरोना सन्दर्भका राष्ट्रले तोकेका प्रतिवन्धहरू छँदै नै थिए, अब पक्तिकारले संयोजकलाई कार्यक्रम खेस्रा तयार पार्न लगाए र काम सुचारू गर्न झक्झक्याए । संयोजकले तयार पारेको खेस्रालाई थप उत्साहित गर्दै उनले ससल्लाह विभिन्न कोण र चरणबाट परिपक्व तुल्याउँन सहचार्य गरे ।

कोरोनाकै कारणले क्लवले गतिविधिका रूपको देखिने तप्काको कुनै खास काम गर्न सकेको थिएन । यस अवस्था प्रति क्लवका सदस्यहरू सन्तुष्ट रहेनन् । कोषाध्यक्ष लक्ष्मी मास्के कीरण तिर फुसफुसाईन् – आन्तरिक चित्रकला प्रदर्शनीको आयोजना गरौं । कीरणले त्यसलाई आवाज दिए र प्रस्ताव बनाए । प्रस्ताव अनुमोदित बन्यो ।

यसैबीच सदस्यहरूबाट एउटा सानो बाल कला कार्यशाला आयोजना गरेर सकृयता कायम गर्ने प्रस्ताव देखापर्यो । किन पनि भने कला कार्यशाला तुलनात्मक रूपमा ललितकला गतिविधि अन्तरगत सामान्य र सहज मानिन्छ । परिणामस्वरूप बुढानिलकण्ठ स्कुल परिसरमा क्लवको पहिलो बाल कला कार्यशाला सम्पन्न भयो ।

अबको पालो ओैपचारिक रूपमा प्रस्तावित आन्तरिक चित्रकला प्रदर्शनीको थियो । उक्त प्रदर्शनीलाइ क्लवले लायन्स – ललितकला अन्तरङ्ग प्रदर्शनीका रूपमा रूपाङ्कित गर्यो । कोरोनाकै वावजुद पनि खास खास अतिथि श्रष्टाहरूलाई समेत समाहित गरि अन्तरङ्ग प्रदर्शनीका लक्षमा क्लवले नेपाल कला परिषद् बबरमहलमा धूमधामका साथ आन्तरिक स्तरको चित्रकला प्रदर्शनीको आयोजना गर्यो । वार्षिक रूपमा गर्ने प्रँणका साथको यो प्रदर्शनी क्लवको दोश्रो ठूलो आयोजना थियो ।

यसैबीच पक्तिकार क्लवको अध्यक्षका रूपमा दोश्रो कार्यकालका लागि पनि सर्वसम्मत निर्वाचित रहन पुग्यो । होटल आर्ट्सकै संस्थापक चिरञ्जीवी भट्ट प्रथम उपाध्यक्ष र कीरण सिगु पुनः द्वितीय उपाध्यक्ष गरी कार्यसमिति सर्वसम्मत भयो ।

दुर्भाग्यवश पक्तिकारको स्वास्थ्यमा ३-४ प्रकारको प्रतिकूलता देखापर्यो । क्लव निस्कृय रहने अवस्था फेरिपनि कायम नै रह्यो । वरिष्ट ललितकर्मीहरूलाई आव्हान गरि सानै स्तरको भएपनि अर्को एउटा कला कार्यशाला आयोजना गरेर क्लवको सकृयतालाई निरन्तर दिईनुपर्ने माग सदस्यहरूबाट देखापर्यो । त्यसको संयोजनको अभिभारा पनि कीरण सिगुमा ठेकियो । स्वास्थ्य परिस्थितिले ६ महिना पछि अध्यक्षलेे क्लव छोड्ने निर्णय लिए । कीरणकै संयोजनमा काठमाण्डौ आर्ट्स होटलमा क्लवले आफ्नो आयोजनाको दोश्रो कला कार्यशाला ठेक्यो र त्यो पनि सफलतापुर्वक सम्पन्न गर्यो ।

उल्लिखित सबै प्रसङ्गहरू क्लव यहाँ आईपुग्दा सम्मका ललितकलाजन्य गतिविधिका फेहरिस्तहरू हुन्, जसको अनुभव हासिल गरेर देशकै व्यपारिक ईपिसेण्टर, ठमेलमा क्लवको पूर्वपरिकल्पित बृहत् प्रदर्शनीको आयोजना सुचारू रहेको छ । हो,चैत्र १७ गतेदेखि मात्र काठमाण्डौ आर्ट्स होटल, ठमेलमा लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सको तेश्रो वार्षिक ललितकला प्रदर्शनी आयोजित रहेको छ जसमा वरिष्ठतम प्रो. राधेश्याम मुल्मीदेखि वाल चित्रअध्येता निज्जु महर्जन सम्म ५० जना कलाकारका कलाकृतिहरू समाविष्ट रहेका छन् । यसरी प्रदर्शनीका प्रति ललितकला क्षेत्रको उत्साहप्रद साथ र सहभागिता रहेको र वहुमुल्य कलाकृतिहरू प्रदर्शित रहेको प्रष्ट नै देखिन्छ । प्रदर्शनीको उद्घाटन ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति नारदमणी हार्तम्छालीबाट भएको छ ।

प्रस्तुत सामग्री नालीबेली र नाटीकुटी विशेष भएकाले यहाँ प्रदर्शनीको भावकीय सादृष्य र कलात्मक मूल्यको विश्लेषण गौंण रहेको छ । तथापि प्रदर्शनीमा वाल चित्रअध्येता निज्जु सम्मको सहभागिताले प्रदर्शनीको साखलाई यस अर्थमा उठाएको छ कि, यिन चित्रकारको चित्र समेत आशलाग्दो सम्भावनाको रहेको छ । यो एउटा मण्डला विषयको चित्राभ्यासका वैशिष्ठ्यमा रहेको छ । त्रिविविका प्रोफेसर, कूलपति र अन्य वरिष्ट तप्कासम्मका कलाकृतिका माझ प्रदर्शित हुने अवसर निज्जुले पाएकी छन् । यो निज्जुका निमित्त मात्र नभएर क्लव र क्लवको आयोजनाका निमित्त समेत उत्साह र गरिमाको विषय रहेको छ ।

अर्कोतर्फ प्रस्तुत प्रदर्शनी सन्दर्भमा आयोजक समितिले प्रदर्शनीकाे परिकल्पनाकर्ता, प्रस्तावक र उत्प्रेरक पक्षलाई सम्झनु पर्छ भन्ने विर्षिएको छ । किन पनि भने प्रकाशित प्रदर्शनी पुस्तिका (क्याटलग) ले प्रस्तुत प्रदर्शनीको पार्श्व रचेका तत्कालीन अध्यक्षलाई नचिनेको नै सम्मको व्यवहार गरेको छ । यो एउटा सम्झनै पर्ने भूल पुस्तिकामा हुन पुगेको छ । पुस्तिका-सामग्री, यसको डिजाईन, लेआउट र छापाकार्य निश्चय नै प्रशंसेय देखिन्छ । पुस्तिकाले प्रति सहभागी छुट्टाछुट्टै पृष्ठ प्रदान गरेर पुस्तिकाको वजनलाई उठाएको छ । सम्पादनजन्य कतिपय त्रुटिहरू भने रहेका छन् नै । उद्घाटन समारोह गच्छे अनुसार आकर्षक रहेको र समारोहको व्यवस्थापनलाई शन्तोषजनक मान्नु पर्दछ ।

यस प्रसङ्गमा प्रदर्शनीका निमित्त मानिसक, शारिरीक र भौतिक सबैखाले त्याग सहित लागिपरेका प्रदर्शनी संयोजक कीरणले क्लवको आयोजना क्षमतालाई सरदरमा प्रमाणित गरेर देखाएका छन् । उनले सबै सदस्य र समूहमा बाँड्न खोज्नु स्वभाविक रहला तर प्रदर्शनीको सफलताको श्रेय उनका पोल्टामा नहालिदिने हो भने भूल ठहरिनेछ । क्लवका अध्यक्ष चिरञ्जीवी भट्टबाट आफ्नो होटल, नीजी स्रोत र नीजी साधन समेतलाई क्लवको हलिमुहालीको अवस्था दिएर आधारभूत भार बहन गरेको देखिन्छ । यो नै क्लवका वहालवाला अध्यक्षको चौडाईको मानक पनि देखिन्छ । बाँकी विशेषमा सतही बाहेक आआफ्नो भूमिकालाई फराकीलो, त्यागिलो र खँदिलो गर्ने प्रयास रहेको देखिएन । बाँकी पदाधिकारीहरूले सिक्नु र गर्नुपर्ने धेरै देखिन्छ । तत्तत पदाधिकारीले जति गरेको हो त्यसलाई धन्यवाद दिनु नै पर्याप्त हुनेछ ।

यसरी, यसो त उल्लेखित प्रकृतिका भूल र रहनगएका कमीकमजोरीमा सुधार गर्दै पर्याप्त र खँदिला सदस्य तथा डेगिला गतिविधि सहित अघि बढ्न सकेको खण्डमा वार्षिक ललितकला प्रदर्शनी २०७९ को आयोजना बाट नेपालको ललितकला क्षेत्रमा लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्स् नयाँ सम्भावनाको जवरजस्त उपस्थितिका रूपमा देखापरेको नकार्नु पूर्वाग्रह ठम्मिने छ । ज्ञातव्य छ, यो अन्तर्राष्ट्रिय संस्था लायन्स ईण्टरनेशनलको ईकाई संस्था हो जसको दायित्व र गतिविधिलाई सोही हैसियतले आँकलन गर्नुपर्ने रहेकोछ ।

प्रदर्शनीका सन्दर्भमा यथासम्भव साथ दिएर क्लवसँगको शुभेच्छुक समाज र पुग्दो कभरेज दिएर सञ्चार क्षेत्रले महत्वपूर्ण सहयोग गरेको प्रमाणित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *