
काठमाण्डौ, २ चैत्र – शून्य कोभिड नीति परित्याग गरेको डिसेम्बरको सुरुवातदेखि हालसम्म ८० प्रतिशतभन्दा बढी जनसंख्या कोभिड– १९ बाट संक्रमित भइसकेको भन्दै चीन सरकारले ‘भाइरसमाथि ‘निर्णायक विजय’ हासिल भएको घोषणा गरेको छ ।
महामारी सुरु भएयता कोभिडका कारण मृत्यु हुनेको संख्या आधिकारिक रूपमा ८७ हजार चारसय ६८ अर्थात् चिनियाँ जनसंख्याको ०.००६ प्रतिशत मात्रै रहेको छ ।
आधिकारिक संख्या मृत्युको वास्तविक संख्याभन्दा उल्लेखनीय रूपमा नै कम भएकोमा शंका छैन । चिकित्सकहरूलाई मृत्युको प्रमाणपत्रमा कोभिड उल्लेख नगर्न भनिएको थियो भने घरमा भएका मृत्युलाई पनि कोभिडबाट भएका मृत्युको सूचीमा समावेश गरिएको छैन । अस्पताल र समाधिस्थलमा देखिएका भिडका रिपोर्टले पनि मृत्युको संख्या आधिकारिक आँकडाभन्दा निकै बढी रहेको संकेत गर्छन् । संक्रमणको पछिल्लो लहरको वास्तविक प्रभाव अनुमान गर्न द इकोनोमिस्टले मृत्युको विश्वसनीय संख्या सार्वजनिक गरेका स्थानहरूको तथ्यांक केलाएको छ ।
मकाउ र हङकङ दुवै चीनको विशेष प्रशासनिक क्षेत्र (एसएआर) हुन् । यी दुवैले कोभिडको व्यवस्थापन एवं जीवनरक्षाका लागि मुख्य भूमिकैजस्तो सामूहिक परीक्षण, कडा प्रतिबन्ध र एकाएक शून्य कोभिड नीति परित्यागकै शैली अपनाए । तर, मुख्य भूमिले जस्तो चीनका यी विशेष प्रशासनिक क्षेत्रले मृत्युको आँकडा लुकाएका छैनन् । यसबाट शून्य कोभिड नीति हटाउँदाको प्रभाव आकलन गर्न सजिलो भएको छ, (तर, यो अझै पनि अपूर्ण अनुमान नै हो । किनभने चीन, हङकङ र मकाउमा खोप, डेमोग्राफिक्स (जनसांखिकीय), स्वास्थ्य हेरचाह प्रणाली तथा जनघनत्वको स्थितिमा समानता छैन) ।
महामारी सुरु भएयता कोभिडका कारण मृत्यु हुनेको संख्या आधिकारिक रूपमा ८७ हजार चार सय ६८ अर्थात् चिनियाँ जनसंख्याको ०.००६ प्रतिशत मात्रै छ । तर, मकाउ र हङकङको तथ्यांकले मृत्युको भयानक तस्बिर प्रस्तुत गर्छ ।
मकाउ र मुख्य भूमिले गत डिसेम्बरको सुरुवातबाट कोभिडका प्रतिबन्ध हटाइए । यो नीति परिवर्तनको प्रभाव मापन गर्न मृत्युका आँकडाको लेखाजोखा गरिएको छ (सामान्य वर्षको तुलनामा भएका अतिरिक्त मृत्युको संख्यालाई केलाइएको छ) । मकाउमा डिसेम्बर महिनामा अन्य महिनाको औसतभन्दा चार गुणा बढी मानिसको मृत्यु भएको थियो । यसबाट डिसेम्बरमा उक्त टापुमा करिब ६ सय व्यक्तिको कोभिडका कारण मृत्यु भएको आकलन गर्न सकिन्छ । मकाउको आवादी सात लाखभन्दा कम छ । तर, मृत्युको यो अनुमानित संख्या प्रतिशतका हिसाबले यो महामारीमा विश्वको अहिलेसम्मकै सबैभन्दा बढी हो । हङकङले भने कोभिडका अधिकांश प्रतिबन्ध डिसेम्बरको अन्तबाट मात्रै खोलेको हो ।
