
काठमाण्डौ, २ चैत्र – सुरक्षा निकायका प्रमुखहरूले पाँचथरको भारतसँग जोडिएको सीमा क्षेत्रको निरीक्षण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे निरीक्षण गरे।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, सिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनीकरणमा केन्द्रित हुन निर्देशन दिए।
सुरक्षा निकायको टोलीले भारतीय सीमासुरक्षा बल (एसएसबी)का स्थानीय अधिकृतलाई भेटी सीमासुरक्षा र अपराध न्यूनीकरणका विषयमा छलफल गरेको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दुसमेत रहेको उक्त क्षेत्र बहुमूल्य जडीबुटी र जङ्गली जनावर पाइने स्थान हो।
यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय चोरी, सिकार र निकासीसमेत हुने गरेको स्थानीयवासीले गुनासो गर्ने गरेका छन्।
दुई वर्षअघि यस क्षेत्रको चिवाभञ्ज्याङ र लामपोखरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापनापछि भारतीयले निर्वाधरुपमा नेपाली भूमिको उपभोग गर्ने, नेपाली जडीबुटी तथा वन्यजन्तुको सिकार गर्नेक्रम भने घटेको छ ।
