Monday, March 9सत्यम खबर
Shadow

नेपालमा रोजगारीको अवस्था नहुनुले भारततर्फ मजदुर पलायन, सम्बन्धी पक्ष मौन

नेपालगन्ज, ८ असोज – बिहिबार बिहान नेपालगन्जको सीमानाका जमुनाहामा आउने जाने यात्रुहरुको भिड देखियो, भिड देखेर कोरोना महामारीको कुनै प्रवाह नै नरहेको वा चेतनामा कमी नै भएको बुझिन्थ्यो ।
किन कोरोनाको डर छैन भन्दा होइन हजुर रोजगारीका लागि भारत जान लागेको भनी जवाफ आउँछ ।


कोभिड–१९ को महामारी भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको पहिलो स्थानमा पुग्ने अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ? भनी प्रश्न गर्दा जयसिंह बोहराले भन्नुभयो– ‘कारण एउटै छ, रोजगारीको अवस्था नेपालमा नहुनु, कुनै रोजगारको बाटो सरकारमार्फत सिर्जना नगर्नु, घरेलु उद्योग, कलकारखानालाई सरकारद्वारा प्रोत्साहन वा बढावा नदिनु नै मान्न सकिन्छ’ भनी बताउनुभयो ।


कारण जे सुकै होस् तर यो तितो सत्य बाहेक केही होइन, हरेक नेपालीहरुको जीवनमा भारत र भारतीयहरुको सकारात्मक छाप रहेको उदाहरणहरु प्रसस्त पाईन्छ । नेपाली परम्परा, धार्मिक मान्यता, संस्कार, पारिवारिक रहन–सहन, रिजि–रिवाज लगायत धेरै जसो कुराहरु एक आपसमा मेल खाने गरेको र सदियौंदेखि रोटीबेटीको सम्बन्ध समेत भएको हुँदा प्रायः नेपालीहरुको चाहना भारतमा गएर केही रोजगारी गर्नु हुने गर्दछ ।
यसबारे इलाका प्रहरी कार्यालय जमुनाहामा दुई सय पचास बढी नेपालीहरु भारत जाने र सोही संख्यामा आउने गरेको तथ्यांक देखिन्छ । नाकामा पुग्ने नेपालीहरुलाई भने भारतीय आधारकार्ड वा परिचयपत्र भएको खण्डमा जान दिने गरेको समेत चौकीद्वारा जानकारी गराईन्छ ।
जमुनाहा चोकी इन्चार्ज बिष्णु गिरीले आज–भोली धेरै नेपालीहरु भारत जाने भनेर आउने गरेको बताउनुभयो । नाकामा आउने नेपालीहरुलाई परिचयपत्रको आधारमा भारततर्फ जान दिने गरेको उहाँले जानकारी गराउनुभयो । भारतमा कोरोनाको महामारी छ, किन जानुहुन्छ जानेहरुलाई भन्दा नेपालमा काम छैन, रोगले भन्दा भोकले मर्ने अवस्था छ भनेर काम गर्न भारत जान लागेको बताउँछन्, चौकी प्रमुख गिरीले ।


चौकी प्रमुख गिरीले भारत जानेमा बढी जसो स्वास्थ्य चेकजाँच गर्ने भनेर पर्चा नै लिएर आउने गरेको हुँदा हामीले जान दिने गरेको बताउँदै सोही अनुसार भारतबाट समेत आँखा र कान सम्बन्धी पर्चा बोकी आउनेलाई नेपाल आउन दिने गरेको बताउँछन् ।
स्रोतका अनुसार पछिल्लो महिनादेखि हालसम्म हजारौंको संख्यामा नेपालीहरु भारत फर्किएका छन् र दैनिक भारत जानका लागि नाकामा पुग्ने नेपालीहरुको कमी भएको छैन ।
कोरोना भाइरसको जोखिम भएपनि घरमा बसेर भोक मेट्न नसकिने भन्दै कामको खोजीमा नेपालको बाँके, बर्दिया, दांङ, कैलाली, कञ्चनपुर, झापा, सुनसरी, बिर्ता, सुर्खेत, सल्यान लगायतका तराई र पहाडी जिल्लाका नेपालीहरु भारत फर्किन बाध्य भएका छन् ।
स्थानीय सरकारले समस्यामा परेका गरिब, दैनिक रोजगारी गर्नेहरुको दैनिकलाई सहज बनाउन बैकल्पिक उपाय खोजी गर्न नसक्दा धेरै नेपालीहरुको दैनिकी कष्टकर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *