Tuesday, April 21सत्यम खबर
Shadow

एमसीसीको आयोजनाका लागि जग्गा लिने प्रक्रिया शुरू

काठमाण्डौ, २३ माघ – अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।

एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एसीए नेपाल)द्वारा सञ्चालित विद्युत् प्रसारण लाइनको जग निर्माणका लागि चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको हो। एमसीए नेपालले सूचना प्रकाशित गरी तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जग्गा अधिग्रहण प्रक्रिया थाल्ने निर्णय गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समिति रहने व्यवस्था छ। तीनै जिल्लाका मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिले जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरू गर्ने निर्णय गरेका हुन्।

तीन वर्षअघि २०७६ वैशाख २३ गतेको मन्त्रिपरिषद्को बैठकले विद्युत् प्रसारण लाइनको जग निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसकै आधारमा तीनै जिल्लामा तयारी थालिएको हो।

चितवनमा रातमाटादेखि नयाँ दमौली प्रसारण लाइनका लागि इच्छाकामना गाउँपालिकाको वडा नं. ३, वडा नं. २ का थमडाँडा, टोलाङ, धरमथलीबाट उत्तर, वडा नंं ५ का तार, ताल्ती, सिरुडाँडा र नरसिंहडाँडा, वडा नं. ६ का ताल्ती र कालिखोलामा जग्गा अधिग्रहण हुने भएको छ।

त्यस्तै, नवलपरासी (सुस्ता पूर्व)मा नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारण लाइनका लागि विनयीत्रिवेणी गाउँपालिका वडा नं. ३ को जङ्गल, वडा नं. ५ को खुमवारी गाउँबाट दक्षिण खकरा गाउँबाट पूर्व, देउरालीबाट पश्चिम र लाटीफाँटको बीच भएर जग्गा अधिग्रहण गरिने एसीए नेपालले जनाएको छ।

यसैगरी, नवलपरासी (सुस्ता पश्चिम)मा नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारण लाइनका लागि बर्दघाट वडा नंं. २ को पोखरीछाप गाउँको पुछार उत्तरबाट आउने र पोखरीछाप डाँडाबाट उत्तर, सुनवल वडा नं. ११ को धुर्कोट फेदीबाट पश्चिम, जर्गाहाबाट पश्चिम, बाबा गोरिया मन्दिरबाट पश्चिम, वडा नं. १२ को प्रतापपुरबाट पश्चिम र वडा नं. १३ को सूर्यबस्तीको पूर्वमा जग्गा अधिग्रहण गरिनेछ।

त्यस्तै, नेपाल-भारत सीमादेखि नयाँ बुटवल प्रसारण लाइनका लागि रामग्राम वडा नंं १ सान्डा सन्तपुर पूर्वदेखि पाल्हिनन्दन वडा नं. १ रमपुरवा पूर्वसम्म जग्गा अधिग्रहण हुने भएको हिमाल खबरमा प्रकाशित समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *