
नेपालगन्ज, ४ माघ – बाँके जिल्लामा दादुरा–रुबेलाको प्रभाव देखिएसँगै त्यसलाई निर्मूल पार्न प्रभावकारी ढंगले अभियानलाई तिब्रता दिई सञ्चालन गरिएको छ ।
हालसम्म ७० हजार ५ सय डोज खोप मध्ये ३३ हजार ३ सय डोज खोप मौज्दात रहेको जानकारी गराउ“दै बुधबार बिहान १० बजेदेखि अन्य खोप केन्द्रमार्फत उक्त खोप लगाईने जनाईएको छ ।
अभियानका क्रममा मंगलबारसम्म नेपालगन्जमा २२ हजार बालबालिकाहरुलाई दादुरा खोप लगाई सकिएको छ । दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेको बाह्रौ बुधबार बिहान १० बजेसम्म ६ महिनादेखि १५ वर्षसम्मका २२ हजार १० जना बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाइएको सुचना सार्वजनिक गरिएको छ ।
सोमबार मात्रै ४ हजार ४ सय ४० बालबालिकालाई खोप लगाईएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्यद्वारा जनाईएको छ । जस अनुसार मंगलबार १६ वटा वडाका १६ स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो ।
मंगलबारदेखि नेपालगन्ज र खजुरका ४७ खोप केन्द्रबाट दादुरा–रुबेला खोप लगाईने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगन्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन हुनेछन् ।
श्रेष्ठका अनुसार बुधबार वडा नम्बर २, ३, ६, ९, १०, ११, १२, १३, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा खोप लगाईने छ । खजुरा गाउँपालिकामा पनि दाजुराको लक्षण भएको शंकास्पद बच्चाको रगत परीक्षण गर्दा नमूना पोजेटिभ आएकोले स्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य संगठन डब्लुएचओको निर्देशन बमोजिम खजुरा गाउँपालिकाका सबै वडाहरुमा उमेर पुगेकाहरुलाई मंगलबारदेखि खोप लगाउन शुरु गरिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
नेपालगन्जका २३ वडा मध्ये बाँकी ७ वटा वडाका खोप लगाउन छुटेका बालबालिकाहरुलाई समेत वडाका स्वास्थ्यकर्मी मार्फत खोज र खोप अभियान सञ्चालनमार्फत दादुरा–रुबेला विरुद्धको खोप सेवा प्रदान गरिने छ । वडा नं. १, ४, ५, ७, ८, १४ र १५ मा खोप प्रगति ९५ प्रतिशत माथि पुगेको समेत जनाईएको छ ।
पुस १२ गतेदेखि देखिएको दादुराबाट बाँकेमा हालसम्म २०९ बालबालिका संक्रमित भइसकेका छन् भने यी मध्ये १ सय ५१ जना निको भएका छन् । ५८ जना होम आईसोलेसनमा छन् भने एक जनाको मृत्यु भइसकेको जनाईको छ ।
