Thursday, January 15सत्यम खबर
Shadow

विश्व नेपाली साहित्य महासंघ, लुम्बिनीद्वारा सम्मान तथा कृति समीक्षा

नेपालगन्ज, २४ पौष – विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाद्वारा आज शनिवार आयोजित एक कार्यक्रममा सम्मान, कृति समीक्षा तथा विमोचन गरिएको छ ।
उक्त कार्यक्रममा वरिष्ठ पत्रकार पूर्ण लाल चुके र साहित्यकार महानन्द ढकालको उपन्यास “बु¥हान” लाई सम्मान गरिएको हो । पत्रकार चुकेलाई पत्रकारिताको माध्यक्षमबाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्नका लागि अतुलनीय योगदान दिएकोमा उच्च कदर गर्दै सम्मान गरिएको हो भने साहित्यकार ढकाललाई भरखरै प्रकाशित चर्चित उपन्यास “बु¥हान” लाई सम्मान गरिएको हो ।
सम्मानित दुबै जनालाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।
सो कार्यक्रममा काढमाडौंका उपन्यासकारद्वय माधव विडारीको उपन्यास अनन्त यात्रा र दामोदर ढकालको उपन्यास तिर्थाको समीक्षा गरिएको थियो । उक्तउपन्यासको समालोचक बाँसगढी बहुमुखी क्याम्पस बर्दियाका सहायक प्राध्यापक हरि सुवेदी र कृष्ण माध्यमिक विद्यालय सल्यानका प्रधानाध्यापक हिराबहादुर खत्रीले विस्तृत रुपमा समीक्षा गर्नु भएको थियो भने पूर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले उपन्यास तिर्था र वरिष्ठ गजलकार खगेन्द्र गिरि कोपिलाले अनन्त यात्रा उपन्यासको पाठकको हैसियतले समीक्षा गर्नु भएको थियो ।
सो अवसरमा सुनिल बुढाद्वारा लिखित तथा विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाद्वारा प्रकाशित मेरी आमा कविता सङ्ग्रह र विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखा मुखपत्र लुम्बिनी दर्पणको दोस्रो अङ्क प्रमुख अतिथि तथा अतिथिहरुले विमोचन गर्नु भएको थियो ।
बर्दिया शाखाको घोषणा : सोही अवसरमा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले विश्व नेपाली साहित्य महासंघ बर्दिया जिल्ला शाखाको घोषणा गर्नुभयो । घोषणा अनुसार बर्दिया शाखाको अध्यक्ष प्रभात सुवेदीको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । उपाध्यक्षद्वय डिल्लीराज अर्याल र विजया सुवेदी पौडेल, महासचिवमा भोजराज गौतम, सचिवमा सोमनाथ लुईटेल, कोषाध्यक्षमा गणेश लम्साल रहनु भएको छ भने सदस्यहरुमा टुक नाथ भुसाल, यदुनन्दन पौडेल, हरिप्रसाद त्रिपाठी, ढाकाराम ढकाल, प्रश्ना सुवेदी र अभिनन्दन सुवेदी रहनु भएको छ ।
सो कार्यक्रममा सम्मानित पत्रकार चुके र उपन्यासकार ढकालको परिचय विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाको अध्यक्ष लेकप्रसाद प्याकुरेलको अध्यक्षता तथा गीता अर्यालको सहजीकरणमा सम्पन्न सो कार्यक्रमको प्रारम्भमा प्रदेश उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार महानन्द ढकाल, पत्रकार नरेन्द्र जङ्ग पिटर लगायतले बोल्नु भएको थियो भने प्रा.डा. जनार्दन आचार्य, साहित्यकारहरु किरण आचार्य, सुमित्रा न्यौपाने, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष पुष्पमणि प्रधान, मनोहर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *