काठमाडौं, ३ आश्विन – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादव प्रेस काउन्सिल पुगी कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग भेटघाट एवं छलफल गर्नुभएको छ ।
केही मिडियाले अफवाह फैलाइएको भन्दै आवश्यक कारबाहीको लागि उहाँ आफैँ काउन्सिल पुग्नु भएको हो । भेटमा मन्त्री यादवले आरोप पुष्टि गर्न नसके गैरजिम्मेवार मिडिया माथि कडा कारबाही हुनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार आचार संहिता सम्बन्धी विषयमा केन्द्रित छलफलमा उजुरी, कारबाही बारे जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा उपप्रशाकीय अधिकृत रामशरण बोहराले आचार संहिता उल्लंघनको प्रकृति, कारबाही प्रक्रिया बारे जानकारी गराउनुभयो । मन्त्री यादवको तर्फबाट उपसचिव सुरेश राउतले एक अनलाइन विरुद्ध गत भाद्र २१ गते उजुरी दर्ता गराउनु भएको थियो ।
सो अवसरमा प्रेस काउन्सिल सदस्य खिलबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल सहभागी हुनुहुन्थ्यो ।