Saturday, April 18सत्यम खबर
Shadow

महिलालाई विश्वविद्यालय प्रवेश गर्न तालिबानले लगायाे राेक

काठमाण्डौ, १५ पौष – अफगानिस्तानका सार्वजनिक र निजी विश्वविद्यालयहरूलाई मन्त्रिपरिषद्को निर्णयअनुसार तुरुन्तै महिला विद्यार्थीहरूको प्रवेश रोक्न निर्देशन दिइएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेखित आदेशलाई तुरुन्त कार्यान्वयन गर्न सबैलाई जानकारी गराइन्छ,’ शिक्षामन्त्री नेदा मोहम्मद नदीमको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता जियाउल्लाह हसिमीले उक्त पत्र ट्विटरमार्फत् पनि जारी गरेका थिए । तर उक्त पत्रलाई लिएर विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले तालिबान सरकारको यस कदमलाई आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।

डुजारिकले उक्त पत्रमाथि प्रतिक्रिया दिँदै तालिबान सरकारले फेरि आफ्नो प्रतिबद्धता भंग गरेको बताए । तालिबानले गत वर्ष अफगानिस्तानको सत्ता कब्जा गरेपछि महिला शिक्षाका लागि आफूहरू उदार रहने प्रतिबद्धता व्यक्त गरेको थियो । महिलाहरूलाई शिक्षण संस्था मात्रै नभएर कार्यालय र सार्वजनिक स्थानमा पनि सहज पहुँचको वातावरण सिर्जना गर्ने तालिबानले जनाएको थियो ।

तर तालिबानले सरकारको नेतृत्व गरेसँगै महिलाहरूलाई बन्देज लगाउने अनुदार नीति अघि सारेको छ । तालिबानले सरकारको नेतृत्व गरेयता शिक्षण संस्था, कार्यालय, पार्क, जिमखाना लगायत थुप्रै सार्वजनिक स्थलमा महिलाको उपस्थितिमा बन्देज लगाइएको छ । यद्यपि तालिबान अधिकारीहरूले माध्यमिक तहको शिक्षामा युवतीहरूमाथि लगाइएको प्रतिबन्ध अस्थायी रहेको जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *