
नेपालगन्ज, २५ कार्तिक – नेपालगन्ज बाल मन्दिरको आधारभुत पढाइदेखि प्लास्टिक सर्जरिको मास्टर्स डिग्रीको पढाईसम्म कहिल्यै दोस्रो नभएका बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार डाक्टर बिनोद कर्णले नेपालगन्जलाई पनि पहिलो बनाउने सपना बोकेर आफ्नाे प्रतिबद्वता सार्वजनिक गरेका छन् ।
आज शुक्रबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेपालगन्जलाई सुन्दर हराभरा अनि बिकासको गतिमा अगाडी बढाउने काममा पनि पहिलो हुने बताउँदै त्यसका आधार सहितको आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै डा.कर्णले आफूलाई मर्नुभन्दा पहिला नेपालगन्ज शहरलाई सुन्दर शहरको रुपमा देख्ने रहर भएका बताए । पेसाले चिकित्सक भएता पनि नेपालगन्ज शहरलाई सुन्दर बनाउने अभियानमा उनी अहाेरात्र खटेका छन् । त्यसैले उनको हरेक बोलीमा नेपालगन्जको आत्मिएता झल्किने गरेकाे छ ।
‘म नेपालगन्ज शहर सुन्दर भएको देख्न चाहान्छु, नेपालगन्ज मेरो मुटुसँग जोडिएको शब्द हो, म मर्नुभन्दा पहिला नेपालगन्ज शहर सुन्दर भएको देख्ने मेरो रहर हो, जसका लागि मैले गर्नुपर्ने प्रयास हरसम्मत हुनेछ,’ उनले भने ।
उनी आफूलाई राजनीतिक व्यक्ति भन्न रुचाउँदैनन् । उनले आफ्नो पेसा राजनीतिक नभएको बताए । उनले भने, ‘मेरो पेसा राजनीति हैन । राजनीति मेरो चासोको विषय हो । म नेपाली जनताले पाउनुपर्ने सेवा सुविधा र हक अधिकार एवम् नेपालगन्ज शहरलाई सुन्दर बनाउन प्रदेश सदस्यका रुपमा उम्मेदवारी दिएको हो । मलाई राजनीति गर्नु पथ्र्यो भने अहिलेसम्म कुनै न कुनै राजनीति पार्टीसँग आवद्ध भइसक्थे ।’
उनले आफ्ना प्रतिबद्धता पत्रमा पनि आफूले गर्न सक्ने कुरालार्ई मात्र समावेश गरेका छन् । उनी चिकित्सक पेसामा भएका कारण उनले मानव स्वास्थ्यलाई बढी प्राथमिकता दिएका छन् । उनले दीर्घरोगीदेखि दुर्घटनामा परेका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सकिने पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै उनले हाल समाजमा विकराल रुपमा देखिएको लागूऔषधको समस्यालाई सम्बोधन गर्दै त्यसमा आफूले गर्नसक्ने कामलाई प्रष्ट पारेका छन् । जुन कुरा प्राय उम्मेदवारले आफ्नो घोषणा पत्रमा उल्लेख गर्दैनन् ।
त्यस्तै उनले शिक्षा, सरसफाई, पर्र्यटन तथा सस्कृति, किसानमुखी कृषि जस्ता विषयलाई पनि प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
