
नेपालगन्ज, २३ कार्तिक – पूर्वप्रधानमन्त्री सुशिल कोइराला चुनाव लडेको बाँके-२ मा यसपटकको निर्वाचनमा कसले बाजी मार्ला भन्ने कुरालाई निकै उत्सुकताका साथ हेरिएको छ। बाँके २ मा जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा रहेका छन्।
जनता समाजवादी पार्टीले केन्द्रमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। यसअघि संसद् र संविधानलाई नै ध्वस्त पार्ने ओलीको विरुद्ध बनेको मोर्चामा रहेको जसपा अहिले उनै ओलीको साथमा छ। जसका कारण जसपाका उम्मेदवारहरुलाई आगामी निर्वाचनका लागि मत माग्न सकस परिरहेको छ।
बाँके-२ मा चुनावी अभियानमा होमिएका राई यसपटक पराजय हुनेमा चिन्तित छन्। राई २०५१ सालदेखि राजनीतिक दलमा आबद्ध भएका हुन् । २०५४ सालमा तत्कालीन राप्रपा साइगाउँ गाविस एकाइ कमिटी अध्यक्ष बनेर काम गरेका थिए। त्यसपछि निर्वाचन क्षेत्र नं. ३ को सचिव भएर काम गरेका थिए।
२०६३ सालमा मधेशी जनअधिकार फोरम नेपालको जिल्ला सचिवालय कोषाध्यक्ष भएर काम गरेका राई २०६४ मा केन्द्रीय सदस्य र केन्द्रीय संगठन विभाग सदस्य, २०६६ मा मुस्लिम विभाग अध्यक्ष, राजनीतिक समिति सदस्य भएर काम गरेका थिए
२०७४ मा संघीय समाजवादी फोरम नेपालको सचिव भएका थिए। यसबीच उनी २०६४ सालमा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०६८ मा श्रम तथा यातायातमन्त्री, २०७५ मा सहरी विकासमन्त्री र अहिले उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए। तर, जनताको पक्षमा काम गर्न सकेनन्।
राई पराजयका कारणहरु यस्ता छन् :
- जसपाबाटै विद्रोह
- नेकपा एमालेले राप्रपा उम्मेदवारलाई साथ दिनु
- इस्तियाक राईले जात र धर्मलाई चुनावी मुद्दा बनाएर समुदाय भाँड्न खोज्नु
- विगतमा गरेका प्रतिबद्धताहरु पूरा गर्न नसक्नु
- सत्ता गठबन्धन एक ढिक्का हुनु
- विगत ९ वर्ष सांसद् र तीन पटक मन्त्री हुँदा पनि केही काम गर्न नसक्नु
- आफैंले संविधान मास्ने ओलीको आलोचना गर्नु र अहिले उनीसँगे काँध मिलाएर हिँड्नु
- मन्त्री पदबाट निकाल्दा पनि पदमा टाँसिरहनु
- मन्त्री हुँदा विभिन्न विवादमा मिछिनु
- राप्रपाबाट धवल शमशेरले उम्मेदवारी दिनु ।
जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राईलाई यसपटक आफ्नै परिवारले पनि साथ नभएपछि उनले जातीयताको मुद्दालाई बोकिरहेका छन्। जसपा बाँकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिनुबाट नै उनप्रति त्यहाँका मतदाताहरुको असन्तुष्टिलाई प्रदर्शन गर्दछ।
उनले अहिले मानिसहरुलाई भ्रमित पार्नका लागि मुस्लिम समुदायको विकासका लागि, हिन्दुको शासन नचल्ने भन्दै मुस्लिमहरुमा हिन्दुप्रति नकारात्मक भावना सिर्जना गराइरहेका छन्। उनलाई यसरी एक धर्मका उम्मेदवारले आफू चुनाव जित्नकै लागि अर्को धर्मप्रति द्वेष फैलाएको भन्दै कारबाही गरिनुपर्ने मागसमेत उठ्न थालेका छन्।
उनले मतदाताहरुलाई भेटेसँगै हिन्दुप्रति घृणा फलाउने र मतदातालाई रिझाउने प्रयास गरिरहेका छन्। यस्तै आफू जित्नका लागि चलाएको अस्त्रले नै समुदायबीचमा वैमनस्यता सिर्जना हुने, दंगा-फसाद हुनेलगायतका घटनाहरु पनि हुने गरेका छन्।
यसरी एक धर्मका उम्मेदवारले अर्को धर्मप्रति घृणा फैलाउँदै द्वेष सिर्जना गर्ने उम्मेदवारलाई कारबाही गरी उम्मेदवारी खारेज गर्न पनि दलका अन्य प्रतिनिधिहरुले माग गरेका छन्।
यस्तै जसपाका केन्द्रिय सदस्य समेत रहेका नेता बाबु खाँ पठानले पनि विद्रोह गरेर मन्त्री राई विरुद्ध उम्मेदवारी दर्ता गराएका छन्। जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले विद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराए। जसपाका सचिव समशुल र केन्द्रिय सदस्य खाँले संघीय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए। मन्त्री राईकै कारण आफूहरुको राजनीति नै समाप्त हुन थालेको उनीहरुको बुझाई छ।
उम्मेदवारका लागि नाम सिफारिस गर्दा समेत आफूहरुलाई थाहा नदिइएको समशुल र खाँ बताउँछन्। २०७४ सालको निर्वाचनमा राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए। नेपाली काँग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए।
यसपटक भने नेपाली काँग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ। काँग्रेसका उम्मेदवार सुदिपनरसिंह राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।
यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ। राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ। यसका साथै हिन्दुवादी नेता समेत रहेका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन्। स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली कांग्रेस देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन्।
क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो। यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कँंग्रेसले एउटा वडा जितेको थियो। उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए।
क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा अगाडी छ, भने दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ। तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा), त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ।
प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी काँग्रेसको १८ हजार ३७ मत रहेको छ। यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ। नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकीकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ। नेपालपाना
