Sunday, May 31सत्यम खबर
Shadow

इश्तियाक राईको वाचा : मतदाताको विश्वास र भरोसालाई तोड्ने छैनौं

नेपालगन्ज, १९ कार्तिक – जनता समाजवादी पार्टी नेपाल बाँकेले निर्वाचन क्षेत्र नं. २ मा शनिबार पनि बिहानैदेखि चुनावी कोण सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
पहिलो चरणको घरदैलो अभियानका क्रममा मतदाताका घरघरमा पुगि सकेका क्षेत्र नं२ का प्रतिनिधि सभा उम्मेदवार मोहम्मद इश्तियाक राई र प्रचार प्रसारमा क्रियाशील कार्यकर्ताहरूले मतदातालाई सही उम्मेदवार छान्न र सही तरिकाले मतदान गर्न पनि सिकाइ रहेका छन् ।
मतदातासँग भोट अपिल गरिरहेका उम्मेदवार राईले यसपालिको चुनाव विकास, सद्भाव भाइचारा र सामाजिक सद्भाव भड्काउनेहरू बीच भइरहेको भन्दै अब समृद्धि र विकासलाई फेरि निरन्तरता दिन अग्रह गरेका छन् । उनले दलबल र गठबन्धनको शक्तिले फैलाएका भ्रमहरूको पछि नलाग्न र सही व्यक्तिलाई चुन्न पनि अपिल गरे ।
‘हामी यही लोकतन्त्रका लागि लडेका हौं । यही अपनत्व र समानुपातिक प्रतिनिधित्व अनि आफ्नो पहिचानका लागि हाम्रा मधेसी नागरिकले आफ्नो रगत बगाएका हुन’ उनले भने ‘फेरि पनि यो व्यवस्थालाई हामीले प्राप्त गरेका उपलब्धीहरूलाई मास्नका लागि चुनाव लड्नेहरू पनि तपाईंका घरदैलोमा आएका छन् । हामीले उनीहरूलाई राम्रोसँग चिन्न जरुरी छ ।’
उम्मेदवार राईले जसपा र आफ्ना उम्मेदवारहरू प्रति मतदाताले अगाध उत्साह देखाएको भन्दै त्यो विकासको उत्साहलाई आफूले सधैं शिरोधार्य गर्ने बाचा पनि गरे ।
‘मेरो लागि गठबन्धन भने पनि, चुनाव जित्ने शक्ति भने पनि तपाईं आम मतदाताहरूले देखाउनु भएको यही अगाध विश्वास, प्रेम, उत्साह र हामी प्रतिको विश्वास हो’ उनले भने ‘हामी तपाईंहरूसँग वाचा गर्छौं कि तपाईंहरूले जिताएका कुनै पनि उम्मेदवारहरूले यो विश्वासलाई धोका दिने छैनौं ।’
पहिलो चरणको आक्रामक घरदैलो अभियान सकेर जसपा बिहीबारदेखि नै चुनावी कोण सभा र आम सभाहरूमा जुटेको हो । योसँगै मतदाता भेटघाट कार्यक्रम पनि निरन्तर चलिरहेको जसपा क्षेत्र नं२ को चुनावी प्रचार प्रसार समितिले जनाएको छ ।
यस क्रममा विभिन्न पार्टी परित्याग गरी करिब १०० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनीहरूलाई जसपा नेता तथा क्षेत्र नं२ का उम्मेदवार मोहम्मद इश्तियाक राई तथा प्रदेश सभा सदस्यका उम्मेदवार आदेशकुमार अग्रवाललगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *