
काठमाण्डौ, १० कार्तिक – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको प्रशंसा गरेका छन् । भट्टराईले रुखको छहारीमा बसेर सूर्यलाई परास्त गर्ने उद्घोषसमेत गरेका छन् ।
चर्को घाम लागेका बेला गठबन्धनका दलहरु रुखको छायामुनि बस्न आइपुगेको उल्लेख गर्दै भट्टराईले चर्को घाम लागेका बेला रुखको छहारी खोज्नु स्वभाविक भएको जिकिर गरे । उनले कांग्रेसले थुप्रै क्रान्तिको नेतृत्व गरेको भन्दै संविधान जोगाउने काम पनि कांग्रेसकै नेतृत्वमा भइरहेको बताए ।
‘चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी ठूलो रुखको छायाँमा बसेर चियाको कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर भोट हाल्नुस्’, उनले कार्यकर्तालाई भने । भट्टराईले आफूहरुको गठबन्धन पवित्र भएको पनि तर्क गरेका छन् । ‘ यो गठबन्धनले आफ्नै मौलिक विकासको मोडेल ल्याउनुपर्छ । यो अपवित्र होइन, सबैभन्दा पवित्र गठबन्धन हो’, उनले भने, ‘एमालेले विचारविहीन ढंगले राजावादी र दक्षिणपन्थीसँग मिलेर बनाएको गठबन्धन अपवित्र हो । उग्रराष्ट्रवादका कुरा गर्ने एमालेको गठबन्धन अपवित्र हो ।’
