नेपालगन्ज, २६ भाद्र – विहिबार बिहान नेपालगन्जको सीमानाका जमुनाहामा बजारको भिड जस्तै देखिएको अवस्था रहेको थियो । किन भिड भयो भनी जानकारी लिन जाँदा उनीहरु त भोकमरी मेटाउन भारततिर जान खोजेको भनी बताउँछन् ।
कोभिड–१९ को महामारीमा भारतमा फैलिएको संक्रमणको ग्राप हेर्दा विश्वको दोस्रो स्थानमा पुगिसकेको अवस्था रहेको पाईन्छ । त्यसमाथि नेपाल जस्तो सानो देशका बासिन्दाहरुलाई भारत मै आफ्नो जीवकोपार्जन गर्न जानु पर्ने बाध्यता किन छ त ?
कारण जे सुकै होस् तर यो तितो सत्य बाहेक केही होइन, हरेक नेपालीहरुको जीवनमा भारत र भारतीयहरुको सकारात्मक छाप रहेको उदाहरणहरु प्रसस्त पाईन्छ । नेपाली परम्परा, धार्मिक मान्यता, संस्कार, पारिवारिक रहन–सहन लगायत धेरै जसो कुराहरु एक आपसमा मेल खाने गरेको र सदियौंदेखि रोटीबेटीको सम्बन्ध समेत भएको हुँदा प्रायः नेपालीहरुको चाहना भारतमा गएर केही रोजगारी गर्नु हुने गर्दछ ।
सोही दृश्य विहिबार बिहान १० बजे समाजसेवी कृष्ण पाण्डेले आफ्नो मोबाईलमा कैद गरेका रहेछन् । उनले आफ्नो फेसबुक वालमा समेत त्यसबारे सम्बन्धित प्रशासन, नेपाल सरकारसित प्रश्न गरेकी छन् । ‘यस्तोमा नेपाली जनता भूखमरीका कारण बाध्य भई रोजगारका लागि भारत जानु कतिको नेपालको गौरवको कुरा हो ? के हेर्दै छ सरकार ? जनताको लागि के गर्दैछ सरकार ?’ भनी स्टाटस समेत लेखेकी छन् ।
त्यसैगरी, केही समय अगाडी स्थानीय पत्रपत्रिकाहरुले समेत यसबारे सम्बन्धित प्रशासनलाई औल्याएका थिए । तर हालसम्म निमुख गरी खाने गरीब जनताको बारेमा सम्बन्धित पक्षको ध्यान केन्द्रित हुन सकेको पाईन्न ।
नेपाल–भारतको सीमा नाका जमुनाहामा दैनिक संयौंको संख्यामा भारत जाने नेपालीहरुको भिड लकडाउनको बेला समेत देख्न सकिन्छ । नेपाल जस्तो सानो देशमा रोजगारीको कुनै माध्यम नभएपछि जीवन गुजारा गर्न भारत जान लागेको उनीहरु बताउँछन् ।
यसबारे इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक संयौं बढि नेपालीहरु भारत जानका लागि नाकामा पुग्ने गरेको तथ्यांक देखिन्छ । नाकामा पुग्ने नेपालीहरुलाई भने भारतीय आधारकार्ड वा परिचयपत्र भएको खण्डमा जान दिने गरेको समेत चौकीद्वारा जानकारी गराईन्छ ।
जमुनाहा चोकीका इन्चार्ज बिष्णु गिरीले आज–भोली धेरै नेपालीहरु भारत जाने भनेर आउने गरेको बताउनुभयो । नाकामा आउने नेपालीहरुलाई परिचयपत्रको आधारमा भारततर्फ जान दिने गरेको उहाँले जानकारी गराउनुभयो । भारतमा कोरोनाको महामारी छ, किन जानुहुन्छ जानेहरुलाई भन्दा नेपालमा काम छैन, रोगले भन्दा भोकले मर्ने अवस्था छ भनेर काम गर्न भारत जान लागेको बताउँछन्, चौकी प्रमुख गिरीले ।
स्रोतका अनुसार पछिल्लो महिनादेखि हालसम्म हजारौंको संख्यामा नेपालीहरु भारत फर्किएका छन् र दैनिक भारत जानका लागि नाकामा पुग्ने नेपालीहरुको कमी भएको छैन । अहिले भारत जाने नेपालीहरुले तिनै हुन्, जुन कोरोना महामारीको शुरुवाती चरणमा भारतभर बन्दाबन्दी हुँदा समस्या भयो भन्दै आफ्नै देशका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई मुर्दावादको नारा लगाई नेपाल फर्किएका थिए ।
कोरोना भाइरसको जोखिम भएपनि घरमा बसेर भोक मेट्न नसकिने भन्दै कामको खोजीमा नेपालको बाँके, बर्दिया, दांङ, कैलाली, कञ्चनपुर, झापा, सुनसरी, बिर्ता, सुर्खेत, सल्यान लगायतका तराई र पहाडी जिल्लाका नेपालीहरु भारत फर्किन बाध्य भएका छन् ।
स्थानीय सरकारले बन्दाबन्दीका समयमा समस्यामा परेका गरिब, दैनिक रोजगारी गर्नेहरुको दैनिकलाई सहज बनाउन बैकल्पिक उपाय खोजी गर्न नसक्दा धेरै नेपालीहरुको दैनिकी कष्टकर बनेको छ ।