Monday, April 20सत्यम खबर
Shadow

बाँकेमा विश्व प्राथमिक उपचार दिवस मनाइयो

नेपालगन्ज २५ भाद्र – “जीवनभर प्राथमिक उपचारका सीप सिकौ” भन्ने मुल नाराका साथ शनिवार नेपालगन्जमा विश्व प्राथमिक उपचार दिवस मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कृत्रिम घटना अभ्यास र प्राथमिक उपचार किट वितरण गरि दिवस मनाइएको हो । हरेक वर्ष रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अगुवाईमा विश्वव्यापी रुपमा मनाइने विश्व प्राथमिक उपचार दिवसले विभिन्न उमेर समूह र विषयहरूलाई समेटेर प्राथमिक उपचारको मूल सन्देश प्रवाह गरी सोसाइटीमार्फत प्राथमिक उपचारका विविध गतिविधिहरू सञ्चालन गरी आम समुदायमा जीवन बचाउने कार्यको लागि सहयोग पुर्याउने मुख्य उद्देश्य रहेको छ ।

दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रसको स्थापना प्राथमिक उपचार सेवाबाट नै भएकोले हरेक घर र समुदायमा प्राथमिक उपचार स्वयंसेवक हुनु अत्यन्त जरुरी रहेको बताउँदै नेपालगन्ज उपमहानगरपालिकाको ३ र ७ नं. वडाका समुदायलाई यो तालिम प्रदान गरिएको उल्लेख गर्नु भयो ।

दिवसको क्रममा प्राथमिक उपचार प्रशिक्षक र सहभागीहरुले कृत्रिम घटना अभ्यास गर्दै सडक दुर्घटनाबाट घाइते भएका ४ जना व्यक्तिहरुलाई प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्याई दिवस मनाएका छन् ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युनिसेफ, युएनडिपी र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ का २४ जना व्यक्तिहरुको सहभागितामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन भइरहेको छ ।

तालिमका सहभागीहरुलाई व्यक्तिगत प्राथमिक उपचार किट वितरण र वडा कार्यालयलाई ठूलो प्राथमिक उपचार किट बाकस हस्तान्तरण गरिएको छ ।

नेरेसो बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका पूर्व केन्द्रिय उपाध्यक्ष अजीतकुमार शर्मा, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, नेपालगन्ज वडा नं. ३ का वडा अध्यक्ष आयुव सिद्धिकी, नेपालगन्ज उपमहानगरपालिकाका फोकल पर्सन प्रकाश डि.सी., नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत व्यक्तिहरुकोे सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो । कृत्रिम घटना अभ्यासका क्रममा सीपको प्रदर्शन प्राथमिक उपचार प्रशिक्षक सरिता सिंह, सीता वली र शुशील चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *