Thursday, April 30सत्यम खबर
Shadow

प्रचण्ड, माधव नेपाललाई वामपन्थी होइन, कांग्रेसपन्थी भन्नुपर्छः युवराज ज्ञवाली

काठमाण्डौ, १० भाद्र –नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी मान्न नसकिने बताएका छन् ।
“हाम्रो पार्टीमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही छैन । तर हामीले कराएर मात्र केही हुनेवाला छैन । उनीहरु एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेका छन् । कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन । प्रचण्ड, माधव नेपालहरु वामपन्थी होइन कांग्रेसपन्थी हो । उनीहरुलाई कांग्रेसले टिकट दिने हो । होइन, कांग्रेस हराउन लाग्ने हो भने त्यतिबेला सोच्न सकिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने ।


नेकपा एमाले आफैंमा निर्भर भएर एकल रुपमा लड्ने तयारीमा लागेको पनि ज्ञवालीको दाबी छ । उनले थपे, “नेकपा एमाले कमजोर भएको छैन । आन्तरिक एकता र सुदृढ गरेर पाँचै दल मिलेर आए पनि जित्ने तयारीमा लागेका छौं । अब हामीले १० लाख पार्टी सदस्यलाई कुदाउने दौडाउने हो । लाइक वा डिस्लाइकका आधारमा कसैलाई उम्मेदवार बनाउँदैनौं । कसैले प्रस्ताव गर्ने र ताली पड्काउने मात्र काम हुँदैन । बाहिर केपी ओलीले कसैलाई बोल्न दिनहुन्न भन्ने परेको छ । उहाँले नै कमिटीभित्र नडराईकन खुलस्त रुपमा बोल्नुस् भन्नुभएको छ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको निर्देशनमा काम नगर्ने पनि उनले स्पष्ट पारे । ज्ञवालीले भने, “उहाँ हिजो एमालेका नेता हुनुहुन्थ्यो । पार्टीबाट राजीनामा दिएर राष्ट्रपति हुनुभएको छ । नागरिकता विधेयकमा उहाँ एमालेको विधान अनुसार होइन संविधानअनुसार चल्ने हो । उहाँले एमालेको निर्देशन पर्खेर बस्ने होइन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *