
काठमाण्डौ, २४ साउन –एप्पलले ताइवानमा आधारित आपूर्तिकर्ताहरूलाई आफ्ना उत्पादनहरूमा चीनमा उत्पादन भएको लेबल लगाउन आग्रह गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको परिणामस्वरूप कडा चिनियाँ भन्सार निरीक्षणको अवरोधबाट जोगिनका लागि एप्पलले ताइवानमा बनेका सामानमा चीनमा उत्पादन भएको लेबल लगाउन आग्रह गरेको रिपोर्टमा जनाइएकाे छ ।

कम्पनीले टापुका निर्माताहरूलाई ‘चाइनिज ताइपेई’ वा ‘ताइवान, चाइना’मा बनेको लेबल गर्न आग्रह गरेको हो। ताइवानमा बनेका सामानहरु आयात गर्न ताइवान चीनकै हिस्सा हो भन्ने कुरा झल्काउने लेबल आवश्यक पर्ने यसअघिकै कानून अब कडाइका साथ लागू हुनसक्ने भएपछि एप्पलले आपूर्तिमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरेको हो ।
‘ताइवानमा निर्मित’ वाक्यांशले आपूर्तिमा ढिलाइ, जरिवाना र नियम अन्तर्गत सम्पूर्ण ढुवानीलाई नै अस्वीकार गर्न सक्छ । तर रोचक कुरा के छ भने ताइवानले सामान निर्यातका लागि ती सामानमा ताइवानमा बनेको या गणतन्त्र चीनमा बनेको भनेर लेबल गर्न आवश्यक छ ।आपूर्तिकर्ताहरूले ताइवानको स्वतन्त्र अस्तित्वलाई अस्वीकार गर्नुपर्ने किसिमको यो कानूनले विश्वभरबाट आलोचना निम्त्याएको छ ।
चिनियाँ सेन्सरशिपविरुद्ध काम गर्ने संस्था ग्रेटफायरले एप्पलले यसअघि नै हङकङ र चिनियाँ प्रयोगकर्ताका लागि इमोजी किबोर्डबाट ताइवानको झण्डा हटाएको बताउँदै कम्पनीले ताइवानको नाम राखिएका एपसमेत हटाउने होकि भनेर प्रश्न गरेको छ ।
एप्पलले सेप्टेम्बरमा आईफोन १४ सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो घोषणा आएको हो ।
बेइजिङले ताइवानलाई आफ्नो एक छुट्टिएको प्रान्तको रूपमा मान्छ जुन अन्ततः चिनियाँ मुख्य भूमिसँग पुनर्मिलन हुने चीनको भनाइ छ। तर करिब २ करोड ३० लाख जनसंख्या भएको ताइवान स्वशासित टापु हो जसले आफूलाई मुख्य भूमिभन्दा फरक मान्छ ।
