Monday, April 20सत्यम खबर
Shadow

ताइवानविरुद्ध चीनको सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु

काडमाण्डौ, २२ साउन – चीन र ताइवानबीच विवाद बढ्दै गएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फर्केपछि चीन थप आक्रामक भएको छ । बिहीबार चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले ताइवान वरपरका ६ क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

चीनले यस सैन्य अभ्यासलाई ‘लाइभ फायरिङ’ नाम दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो सैन्य अभ्यास ताइवानको तटबाट मात्र १६ किलोमिटर पर भइरहेको छ । यसमा वास्तविक हतियार र गोलाबारुद प्रयोग भइरहेको छ। यो अभ्यास भदौ ७ गतेसम्म चल्नेछ । यसअघि चीनले ताइवानबाट करिब १०० किलोमिटर टाढा यस्तो अभ्यास गर्दथ्यो । तर न्यान्सीको भ्रमणपछि अहिले त्यो निकै नजिक आइसकेको छ ।

पीएलए इस्टर्न थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल शी यीले भने–‘लामो दूरीका हतियारहरूको परीक्षण गरिनेछ। मिसाइल परिक्षण पनि हुनेछ ।’ अर्कोतर्फ, ताइपेईले भने कि उसले चीनको हरेक चालमा नजर राखिरहेको छ। ताइवानको रक्षा मन्त्रालयले भन्यो–‘हामी कुनै पनि प्रकारको तनाव चाहँदैनौं । देश यस्तो अवस्थाको विरुद्धमा छ, जसले विवाद निम्त्याउँछ । हामी युद्ध चाहँदैनौं तर युद्धको लागि तयार हुनेछौं।’
पश्चिमी प्रशान्त क्षेत्रको फिलिपिन्स सागरमा अमेरिकी नौसेनाको जहाज देखिएको छ । जहाँ यो जहाज देखियो त्यो ताइवानको दक्षिणपूर्वी क्षेत्र हो। युएसएस रोनाल्ड रेगन जहाजले त्यहाँ नियमित गस्ती गरिरहेको अमेरिकी नौसेनाले जनाएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *