Monday, April 13सत्यम खबर
Shadow

चिनियाँ चेतावनीले पेलाेसीकाे भ्रमणबारे अमेरिकामा चिन्ता

काठमाण्डौ, १० साउन – अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले दिएको चेतावनीमाथि अमेरिकी अधिकारीहरूले प्रतिक्रिया दिएका छन् ।

सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी सभामुख पेलोसीले चीनको भ्रमण गरेमा बल प्रयोग गर्न सक्ने चेतावनी दिएका थिए ।

चिनियाँ चेतावनीले वासिंगटनमा अलार्म बजाएको छ । बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारहरूसँग बोल्दै पेलोसीको ताइवान भ्रमण ‘अहिले राम्रो विचार होइन’ भन्ने अमेरिकी सेनालाई लागेको बताएका थिए।

बिहीबार पेलोसीले ताइवानको लागि समर्थन देखाउन महत्त्वपूर्ण रहेको बताए पनि सुरक्षालाई उद्धृत गर्दै भ्रमणको योजनाबारे कुनै कुरा बोल्न चाहिनन् ।

‘मलाई लाग्छ कि राष्ट्रपतिले भन्नुभएको थियो कि मेरो विमानलाई खसालिन्छ वा यस्तै केही हुन्छ भनेर सेना डराएको हुन सक्छ। मलाई ठ्याक्कै थाहा छैन,’ पेलोसीले भनेकी छन् ।

आइतबार पूर्व अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले पनि पेलोसीलाई उनको भ्रमणमा सामेल हुने टिप्पणी गरेका छन् ।

पोम्पेओले ट्विटरमा लेखेका छन्,’न्यान्सी, म तिमीसँग जान्छु। म चीनमा प्रतिबन्धित छु, तर स्वतन्त्रता प्रेमी ताइवानमा होइन, त्यहाँ भेटौँला ।’

निजी रूपमा बाइडेन प्रशासनका अधिकारीहरूलाई चीनले सम्भावित यात्रालाई रोक्न ताइवानमाथि नो फ्लाई जोन घोषणा गर्न सक्ने चिन्ता भएको एक अमेरिकी अधिकारीले सीएनएनसँग भनेका छन् ।

तर, पेलोसीको सम्भावित भ्रमण अब झनैं अन्योलपूर्ण रहने सम्भावना बढेको छ । चीनले पेलोसीको भ्रमणलाई लिएर कुन किसिमको कदम चाल्ने भन्ने स्पष्ट नपारे पनि बल प्रयोग गर्ने भन्ने विषयले सैन्य प्रतिक्रिया आउन सक्ने अनुमान गरिएको छ ।

चीनको रेनमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक शि यिन्होङले भनेका छन्,’चीनले अभूतपूर्व काउन्टरमेसनको साथ प्रतिक्रिया दिनेछ । ताइवान स्ट्रेट सङ्कट पछि यो अहिलेसम्मको सबैभन्दा बलियो हुनेछ।’

यसअघि सन् १९९७ मा बेइजिङ र सांघाईको भ्रमण गरेको केही दिनपछि तत्कालीन अमेरिकी सभामुख न्यूट गिंगरिचले ताइवानको राजधानी ताइपेईको भ्रमण गरेका थिए । त्यतिबेला गिंगरिचले ताइवानमाथि आक्रमण भएमा अमेरिकाले सैन्य हस्तक्षेप गर्नेछ भन्दै चिनियाँ नेताहरूलाई चेतावनी दिएका थिए ।

तर, अहिले ठ्याक्कै उल्टो स्थिति बनेको छ । चीनले सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा विरोध गर्दै बल प्रयोग चेतावनी अमेरिकालाई दिएको हो । यसले वासिंगटनमा चिन्ताको घण्टी बजाएको छ भने, पेलोसीको भ्रमण नै अन्योलपूर्ण बन्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *