Friday, March 13सत्यम खबर
Shadow

नेताहरूको घर घुमेर एकअर्काको पोल लगाई खानेका दिन गएः राजेन्द्र लिङ्देन

काठमाण्डौ, ३२ असार –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्ट नेताहरूलाई पार्टी खोल्न वा अर्को पार्टी प्रवेश गर्न चुनौती दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले भने, “राप्रपामा शीर्ष नेताहरुबीच विवाद भएको कुरा कपोलकल्पित र हावादारी प्रचार हो । नेताहरुलाई उकासेर, घर चक्कर लगाएर, एउटाको पोल अर्कोलाई सुनाएर खानेका दिन गए । त्यसरी कोही नेता पनि बन्न सक्दैन, पार्टी पनि बन्न सक्दैन । पार्टीमा पद प्रतिष्ठालाई मुख्य विषय बनाउनेका सन्दर्भमा मलाई केही भन्नु छैन । तिनले नयाँ पार्टी खोले पनि हुन्छ, अर्को पार्टीमा गए पनि हुन्छ ।”


पार्टीमा कमल थापा, पशुपति शमशेरसहित तीन जना अध्यक्ष बनाउने कुरा पनि उनले अस्वीकार गरे । राप्रपा अध्यक्ष लिङ्देनले भने, “पार्टीले वैकल्पिक शक्ति बन्ने एउटा बाटो पक्रिसकेको छ । सामूहिक नेतृत्वका नाममा पदीय भागबन्डामा अल्झेर बस्दैन । यसको अर्थ अध्यक्षले जे मन लाग्यो, त्यही गर्दै जाने भन्ने पनि होइन ।”
आगामी निर्वाचनमा राप्रपा तालमेल गरेर जाने वा एक्लै लड्ने दुवै विकल्पमा खुला रहेको पनि उनले बताए । लिङ्देनले थपे, “अरु दलसँग तालमेल भएन भने एक्लै जानुपर्छ । तर गठबन्धन बन्ने सम्भावना पनि जीवितै छ । तर यसले ठोस आकार लिइसकेको छैन ।” विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राप्रपा प्रवेश पनि तत्काल सम्भव नभएको उनले बताए । व्यक्तिगत रुपमा कुराकानी भए पनि औपचारिक संवाद अघि नबढेको उनको भनाइ छ ।
अहिलेको स्थितिमा राप्रपाले मात्र प्रतिपक्षको धर्म निर्वाह गरेको दाबी पनि लिङ्देनले गरे । उनले भने, “हामी रेलिङ भत्काउने, गाडी जलाउने काममा लागेनौं होला । महँगीलगायत जनजिविकाका विषयमा अहिले विरोधमा कोही छ भने राप्रपा मात्र छ । हामी सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएर दबाबमूलक कार्यक्रम गरिरहेका छौं ।” (रिपोटर्स नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *