
काठमाण्डौ, १३ असार –नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा आइपुगे, सम्हाले कार्यभार
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यभार सम्हालेका छन् ।
शनिबार अपराह्न नयाँदिल्लीबाट भिस्तरा एयरको विमानमार्फत काठमाडौं आएका राजदूत श्रीवास्तले लैनचौरस्थित दूतावास पुगेर पदभार ग्रहण गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
शनिबार अपराह्न आइपुगेका राजदूत श्रीवास्तवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूतावासका नियोग उप-प्रमुख एवं कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी नामग्य सी खम्पा, दूतावासका अधिकारी र शुभेच्छुकहरुले स्वागत गरेका थिए ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिव भएर गएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो ।
यसअघि विदेश मन्त्रालयमा अतिरिक्त सचिवकारुपमा श्रीवास्तवले चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए । करियर कूटनीतिज्ञ श्रीवास्तव चिनियाँ मामिला जानकार हुन् । उनले पूर्वीलद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन डिसी, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।
