Friday, April 24सत्यम खबर
Shadow

डुडुवा गाउँ कार्यपालिकाको बैठक स्थगित

डुडुवा, १२ असार – डुडुवा गाउँपालिकाको कार्यालयमा आईतवार बोलाएको कार्यपालिका बैठक एजेण्डाको विस्तृत जानकारी नगराई विविध भन्दै खबर गरेकोमा सदस्यबाट विरोध भएपछि बिना निष्कर्ष स्थगित भएको छ ।

जनता समाजवादी पार्टी र नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले डुडुवा गाउँपालिकाको कार्यपालिका बैठक सञ्चालन कार्यविधी अनुसार जानकारी नगराई बैठक बोलाइएकोमा विरोध गरेपछि बैठक स्थगित भएकोे हो ।

डुडुवा गाउँपालिका कार्यपालिका सञ्चालन कार्यविधि २०७४ ले कम्तिमा २४ घण्टा अगावै बैठकको एजेण्डा सहितको पत्र पठाएर कार्यपालिका सदस्यलाई जानकारी गराउनु पर्ने उल्लेख भएपनि विविध भनेर मोबाइल मार्फत जानकारी गराइएकोमा सदस्यले विरोध गरेका हुन ।

कार्यपालिका सदस्यहरुले सिलिङ्ग बजेट र लक्षितवर्गको कार्यक्रम, करार कर्मचारी सहित गाउँपालिकाको हित हुने गरि एजेण्डा समावेश गर्न अनुरोध गरेपछि केही समय विवाद भई बैठक स्थगित भएको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताउनु भयो ।

कार्यपालिकाको बैठकमा उपस्थित भई एजेण्डा सहित छलफल गर्न सदस्यहरुले भनेपनि आफ्नो एजेण्डामा सहमत भए मात्र हाजिरी रजिष्टरमा हस्ताक्षर गर्न दिने भन्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हस्ताक्षर समेत गर्न नदिई नेपाली काँग्रेसबाट निर्वाचित सदस्य, उपाध्यक्ष र स्वयंले मात्र हस्ताक्षर गरेको वडा नं. ४ का वडाध्यक्ष सगीर खाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *