Saturday, April 18सत्यम खबर
Shadow

भारतको अपोलो अस्पतालद्वारा नेपालमा फोक्सो र मुटु प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया

काठमाण्डौ, २६ जेष्ठ – भारतको अपोलो अस्पतालले नेपालमा फोक्सो तथा मुटु प्रत्यारोपणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौंको र्‍याडिसन होटलमा आयोजना गरिएको कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा एमएस कँवर, अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा वनिता अरोरा तथा कार्डियोथोरासिक मृटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलको सहभागिता थिए। कार्यक्रममा फोक्सो र मुटु रोगका जटिलताहरू र भारतमा उपलब्ध उन्नत स्तरको उपचार मोडेलहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा इन्द्रप्रस्थ अपोलो अस्पतालका पल्मोनोलोजी डा कंवरले फोक्सो प्रत्यारोपण भनेको शल्यक्रिया मात्र नभएको बताए। ‘आइपीएफ, सीओपीडी, एम्फिसेमा, कोविड फाइब्रोसिस, पल्मोनरी हाइपरटेन्सन र अन्य यस्ता विविध अन्तिम चरणको फोक्सो रोगका बिरामीहरूको स्वास्थ्य अवस्थालाई स्थिर राख्दै फोक्सोको प्रत्यारोपण अघि गरिने व्यापक पूर्व तयारी कार्यबाट सुरु हुने प्रक्रिया हो,’ उनले भने।

यसमा फोक्सोको सामान्य पुर्नस्थापना, अधिकतम अक्सिजन थेरापी र सकारात्मक दबाब भेन्टिलेसन समावेश छ। ‘फोक्सो प्रत्यारोपण शल्यक्रिया जटिल छ। यसको जटिलता भनेको शल्यक्रिया पछिको तत्काल र दीर्घकालीन हेरचाह पनि हो। विकसित मुलुकहरुमा दशकौंदेखि लोकप्रिय रहेको फोक्सो प्रत्यारोपण अहिले भारतमा पनि तुलनात्मक परिणामसहित उपलब्ध छ। विभिन्न मुलुकका अन्तर्राष्ट्रिय बिरामीहरू हाल इन्द्रप्रस्थ अपोलो अस्पतालमा हाम्रो निगरानीमा उपचारारर्थ छन्। फोक्सो प्रत्यारोपणको लागि उनीहरु नयाँ दिल्लीस्थित हाम्रो अस्पतालमा पालो पर्खिरहेका छन्, जसमा अधिकांश दुवै फोक्सो प्रत्यारोपणका लागि प्रतीक्षारत छन्,’ डा कँवरले भने।

मृगौला, कलेजो तथा बोनम्यारो प्रत्यारोपणमा एक अग्रणी केन्द्रको रुपमा रहँदै आएको इन्द्रप्रस्थ अपोलो अस्पतालले अब मुटु प्रत्यारोपण पनि सम्पन्न गरेको छ। इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीका कार्डियक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्शनल कार्डियोलोजिस्ट, वरिष्ठ सल्लाहकार डा अरोराका अनुसार देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीहरूको उच्च मृत्युको कारण या त मुटुको पम्प फेल हुन्छ या अचानक कार्डियक अरेस्ट हुन्छ। यस्तो अवस्थामा सावधानीपूर्वक जाँच गरेपछि कार्डियक रिसिंक्रोनाइजेसन थेरापी उपकरण वा स्वचालित प्रत्यारोपणयोग्य डिफिब्रिलेटर उपकरणहरू प्रत्यारोपण गरेर बिरामीहरूलाई बचाउन सकिन्छ। दुबै उपकरणहरू एउटै उपकरणमा समेत उपलब्ध छन्।

‘तिनीहरूले जीवनको गुणस्तर सुधार गर्छन् र बिरामी लामो समयसम्म बाँच्न सक्छन्। बिरामीहरुमा यी उपकरणहरू राखेपछि उनीहरुलाई प्रत्यारोपणको सूचीबाट हटाइन्छ यद्यपि, यस्ता बिरामीहरूको चयन भने सावधानीपूर्वक गर्नुपर्छ,’ उनले भनिन्।

उनले थपिन, ‘कमजोर मुटु भएका बिरामीहरूमा प्रयोग गरिने अर्को विशेष उपचार प्रक्रिया भनेको फिजियोलोजिकल पेसिङ हो। जहाँ मुटुमा विद्युतीय बाइपास गर्न तल्लो चेम्बरमा लिड राखेर दुवै चेम्बरमा पेसमेकर प्रयोग गरिन्छ। यसले मुटुको कार्यमा व्यापक सुधार गर्छ। यद्यपि, यी सबै उपकरणहरू प्रशिक्षित हातहरूमा हुनुपर्छ।’

त्यस्तै फोक्सो बिरामीका बारेमा जानकारी दिँदै डा गोयलले फोक्सोको दीर्घकालीन बिरामी भएर बाँच्नु निकै कष्टकर तथा खर्चिलो हुने बताए। उपचार विधिको रूपमा फोक्सो प्रत्यारोपणले अन्तिम चरणको फोक्सो रोगबाट पीडित बिरामीको जीवनको गुणस्तर सुधार गर्नसक्ने उनले बताए।

‘फोक्सो प्रत्यारोपणपछि बिरामीहरूले गुणस्तरीय जीवनको आनन्द लिन सक्छन्। प्रविधिको विकासले बिरामी तथा फोक्सो दाता बीचको खाडललाई कम गर्दै लगेको छ। प्रत्यारोपणपछि हुने जटिलताहरूलाई रोक्नसमेत मद्धत गरेको छ। अन्तिम चरणको फोक्सोको रोगका लागि उपलब्ध विशेष सर्जिकल प्रविधिहरूबारे जनतामा चेतना बढ्दै गएका कारण फोक्सोको रोगका कारण हुने मृत्युदर घटाउन विज्ञहरूलाई सहज भएको छ,’ उनले भने।

अपोलो अस्पताल भारतको पहिलो जेसिआइ मान्यता प्राप्त अस्पताल हो। सन् १९९६ जुलाईमा सुरु गरिएको यो स्वास्थ्य संस्था दिल्ली सरकार र अपोलो अस्पताल इन्टरप्राइज लिमिटेडबीचको संयुक्त उद्यम हो। अपोलो अस्पताल समूहद्वारा स्थापित यो तेस्रो सुपर स्पेशियालिटी केयर अस्पताल हो।

१५ एकड क्षेत्रमा फैलिएको यो अस्पतालमा ३०० भन्दा बढी विशेषज्ञ र ७०० भन्दा बढी अपरेशनल बेड, १९ अपरेशन थिएटर, १३८ आइसीयु बेड, चौबीसै घण्टा फार्मेसी, एनएबीएल मान्यता प्राप्त प्रयोगशालाहरू २४ सै घन्टा आपतकालीन सेवाहरू र एक सक्रिय एयर एम्बुलेन्ससहित ५७ विशेषताहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *