
नेपालगन्ज, २६ जेष्ठ – पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निर्माण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले विभिन्न सवाल समाधान गर्नमा सहयोग पुगेको सरोकारवालाले बताएका छन् ।

युएसएआइडी एफएचआइ ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेको परियोजनाको आज विहीबार बर्दियामा आयोजित परियोजना सम्पन्न बैठकका सहभागि सरोकारवालाले ६ वषदेखि सञ्चालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताएका थिए । बैठकमा स्थानीय सभाका संयोजक हरिबहादुर घर्ति, रेडियो श्रोता क्लबका कल्पना थारु, बढैयाताल गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकला बिक, नागरिक समाज सञ्जालका मणी शर्मा, नागरिक अभियन्ता कमलदेव पौडेलले जिल्लास्तरमा सञ्चालन गरिएको क्रियाकलाप तथा अभियानबाट भएको परिवर्तनका बारेमा आ–आफनो अनुभव सुनाउनु भएको थियो ।

बैठकमा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख टोनी बन्डुरेन्टले परियोजनाले राम्रो परिवर्तन ल्याएको कुरा सुन्दा धेरै खुशी लागेको भन्दै परियोजना सकिए पनि यहाँहरुको अभियान आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गाउ“पालिकासंगको सहकार्यमा परयोजनागत राम्रो काम भएकोले पालिकालाई कार्य सम्पादनमा सहजता भएको भन्दै परियोजना अन्तर्गत निर्माण भएका विभिन्न समुहहरुलाई दिगो बनाउनका लगि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, निवर्तमान उपाध्यक्ष दिपा गौतम, परियोजनाका नागरिक समाज विज्ञ इरसाद अन्सारी लगायतले परियोजनाका बारेमा बोल्नु भएको थियो ।
बैठकमा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना सञ्चालनको ६ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानिय तहमा निति निमार्ण लगायतको काम गरेको छ ।

बैठकमा बर्दिया गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकार, स्थानीय समुहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
