
नेपालगन्ज १२ भाद्र – आफ्नो मर्यादालाई जोगाउन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बाँकेका क्षेत्र नं. २ का संघीय सांसद मोहमद ईस्तियाक राईले गलत निर्णय गरेका कारण भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको डेढ करोड रकम फ्रिज भएको आरोप लगाएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनमा मेयर राणाले भने,–‘सांसद मोहम्मद राईले उपमहानगरभित्र दिएको सम्पूर्ण योजना कार्यान्वयन गराउने तर सोही निर्णय कार्यान्वयन नगराउने भन्ने होइन, उहाँले रकम कोभिडको खातामा हाल्दिनालाई पत्र लेग्नु पर्ने थियो । उहाँले त्यसो गरेको भए कोलेनिकालाई पत्र लेख्दा उपमहानगर कोभिडको खातामा पैसा आउँथ्यो । तर भेरी अस्पतालको लागि भेन्टिलेटर किन्ने निर्णय गरिदिनु भए छ, त्यसो निर्णय उहाँले गर्न पाउनु हुन्न, सो निर्णयलाई कोलेनिकाले स्वीकार गर्ने अवस्था नै थिएन ।’

मेयर डा. राणाले कोभिडको खातामा पैसा जम्मा गर्ने गरी प्रक्रिया अगाडी बढाउनुको साटो बेग्लै निर्णय गरेर अगाडी बढेका कारण रकम फ्रिज भएको दावी गरेका छन् । निर्णय नै गलत भएका कारण बजेट फ्रिज भएको मेयर डा. राणाले बताए ।
पत्रकार सम्मेलनमा उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले स्थानीय तहलाई अधिकार दिए पनि संघीय सांसदबाट उत्पन्न हुने टिका टिप्पणीका विषयमा सोधिएको पत्रकारको जबाफमा भनिन्– ‘देश संघीयतामा गइसकेको छ, तर त्यसलाई स्वीकार गर्न नसकी स्थानीय तहको अधिकार मिच्न खोज्ने प्रवृत्ती देखा परेका छन् । कतै, सबै तहका सरकारको अधिकार क्षेत्र के हो भन्ने मै हामी अन्यौलमा पो छौं की ?’

यसैगरी, नेपालगन्ज उप–महानगरपालिकाले कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरिएको छ ।
प्रकोप व्यवस्थापन कोषमा एक करोड ७१ लाख ७८ हजार १ सय ४६ रुपियाँ आम्दानी भएकोमा एक करोड ५२ लाख १३ हजार ५ सय २० रुपियाँ खर्च भएको उपप्रमुख उमा थापा मगरले जानकारी गराउनुभयो ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको उपस्थितीमा उपप्रमुख मगरले खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । कोषमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सहयोगीदाता, कर्मचारी, संघ संस्था लगायतले सहयोग गर्नुभएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडा कार्यालयमार्फत १४ हजार ५ सय ११ जनालाई दुई करोड ५५ लाख ३४ हजार २ सय ५० रुपियाँ बराबरको राहत वितरण भएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगर प्रमुख डा. राणाको पत्रकार सम्मेलन चलिरहे कै बेला पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईले सार्वजनिक सञ्जालमा पुनः चुनौती दिएका छन् । उहाँले लेख्नु भएको ‘नगरपालिकाको सम्पर्क मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नं. ६५८ मिति ०७७÷०३÷०७ गतेको बुँदा नं. १, ३ र ४ ले नै सम्बन्धित स्थानीय तहले के गर्ने संयोजक सांसदले के गर्ने कसको के जिम्मेवारी हो प्रष्ट नै रहेको अगवत गराउनु भएको छ ।’
उहाँले अगाडी लेख्नुहुन्छ– ‘अध्ययन नगरी निर्णय गरेको र अर्काको कार्य क्षेत्रमा हस्तक्षेप गरेको टिप्पणी गरी ज्ञानी र अज्ञानीको प्रमाण पत्र बाड्नु भन्दा आफ्नो सम्पर्क मन्त्रालयको पत्र अध्ययन गर्नु कसले कुन प्रमाण–पत्र प्राप्त गर्छ तलको पत्रमा स्पष्ट छ । साथै अहिले पनि म आफ्नो भनाईको पुष्टयाईका लागि आम नागरिकको बिचमा बहस गर्न तयार रहेको चुनौती समेत दिन चाहन्छु । यसको पुष्टयाई गर्न नसकेमा राजनीतिक जीवनबाट सन्यास लिन तयार छु ।’ भनी पुनः भ्रमलाई चिरफार गर्नु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाद्वारा भ्रम फैलाउने कार्य गरिएको हो वा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्यबाट भ्रम फैलाउने कार्य गरिएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी बूँदा नं. १ मा प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम अन्तर्गत आफ्नो गाउँपालिका तथा नगरपालिकामा विनियोजन भएको रकम मध्ये बचत हुने रकम एकीन गरी कार्यक्रम निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने भनी लेखिएको छ ।
यसैगरी बूूँदा नं. ३ मा कार्यक्रम निर्देशक समितिका संयोजकले निर्देशक समितिका अन्य सदस्यहरुसँग समन्वय गरी कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि गर्नुपर्ने क्रियाकलाप र उपलब्ध हुने बजेट उल्लेख गरी सम्बन्धित गाउँपालिका तथा नगरपालिका र जिल्ला समन्वय समितिलाई लिखित रुपमा जानकारी दिने भनी लेखिएको छ भने बूँदा नं. ४ मा बूँदा ३ बमोजिमको कार्य ०७७÷०३÷१५ गते भित्र सम्पन्न गरिसक्नु पर्ने छ भनी लेखिएको छ ।
अब आम जनमानस बीच भ्रम नहुनुु पर्ने हो, यस बूँदालाई अध्ययन गर्दा आफै प्रष्ट देखिन्छ कसले भ्रमको खेती गर्दछ । उपमहानगर प्रमुख डा. राणाले आफ्नो मर्यादा जोगाउन जे जति उपाय गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रमार्फत सो प्रष्ट भएको पाई्रन्छ ।
