
नेपालगन्ज, ३० चैत्र – नयाँ वर्षको पहिलो दिन अर्थात २०७९ बैशाख १ गते सातौं राष्ट्रिय झण्डा दिवस मनाईने भएको छ । बिगत सात बर्ष देखि नेपालगन्जबाट शुरु गरिएको झण्डा दिवस वैशाख १ गते देशैभर मनाईने भएको हो ।
नेपालगन्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गतेदेखि झण्डा दिवस बनाउन शुरु गरेको हो । अन्तरालको अवधारण बमोजिम यस बर्ष बास नेपालले देशैभर बनाउन शाखाहरुलाई परिपत्र गरेको छ ।
अन्तरालको आयोजना र बास नेपालको संयोजनमा नेपालगन्ज रंगशालामा झण्डा दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना हुनेछ । बैशाख १ गते बेलुकी ५.२९ मा हुने कार्यक्रमको व्यापक तयारी भईरहेको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्र र राष्ट्रियता झल्किने बिभिन्न कार्यक्रमहरु प्रस्तुत गरिने बताईएको छ ।

राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सरकारले नै यसको जिम्मेवारी लिई राष्ट्रिय झण्डा दिवस मनाउनुपर्ने बताए ।
हरेक दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय दिवस मनाईन्छ तर देशलाई बिश्व मानचित्रमा चिनाउने, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिने कुनै दिन छैन (परिकल्पनाकार शाहले भने –जसका कारण झण्डाको रंग समेत गलत प्रयोग गर्ने परिपाटी बढेर गएको छ । यस्तो समस्या हुन नदिन, झण्डाको महत्व बढाउन दिवस मनाउने सोच आफुमा आएका हो ।
राष्ट्र, राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाँध्ने गरेको उल्लेख गर्दै शाहले झण्डाको महत्वलाई बुझि झण्डाको मर्यादा कायम राख्न सबैलाई आग्रह गरे । उनले झण्डा दिवसमा सहभागि हुन सबैलाई आग्रह गरेका छन् ।
झण्डा दिवसको पहिलो बर्ष राष्टू गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगन्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगन्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो ।
तेस्रो बर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने नेपालगन्ज, पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो ।
चौथो बर्ष अन्तरालले नेपालगन्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगन्जको बी.पि. चौकमा मनाएको थियो भने पाँचौं र छैटौं बर्ष नेपालगन्जको रामलिला मैदानमा झण्डा दिवस मनाईएको थियो ।
