
नेपालगन्ज, १० भाद्र – कोभिड–१९ जस्तो भयावह महामारीको बेला अति आवश्यक उपकरण भेन्टिलेटर खरिद गर्न नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई प्रदान गरिएको डेढ करोड रुपैयाँको रकम निकासा माग गर्न बेवास्ता गरेर रकम फ्रिज गराउने उपमहानगरपालिकाले आफ्नो कमी कमजोरी ढाकछोप गर्न विज्ञप्ती जारी गरेकोमा पूर्वमन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।



स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत बाँकेको क्षेत्र नम्बर २ मा छनौट गरिएका योजनाहरु मध्ये दुईवटाको ठेक्का हुन नसक्दा र एउटा सम्झौता नै हुननसक्दा खर्च नभएको डेढ करोडको योजनालाई स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितिको २०७७ असार १४ गतेको बैठकबाट शंसोधन गरी सोही दिन नै कोलेनिका तथा नेपालगन्ज उपमहानगरपालिकालाई असार १५ गते कार्यालय खुल्ने बित्तिकै निर्णय बुझाई भरपाई समेत लिएको जिल्ला समन्वय समिति बाँकेको चलानी नम्बर ३५ को २०७७ भदौ ९ गतेको पत्रकाट प्रष्ट भएको पूर्वमन्त्री राईको भनाई रहेको छ ।
पूर्वमन्त्री राईद्वारा जारी विज्ञप्तीमा निर्देशक समितिको उक्त निर्णय अनुसार खर्च नभएको सो रकम स्थानीय तहमा फ्रिज नहुने गरी कोभिड–१९ को व्यवस्थापनका लागि खोलिएको खातामा जम्मा गर्न उपमहानगरपालिकालाई असार १५ गतेभित्र कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई एउटा दुई लाईनको सामान्य पत्र लेखेर रकम निकासा माग गर्ने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा असार १८ गतेसम्म उपलब्ध गराउनु पर्ने समय सीमा थियो । सो कुरा प्रष्ट जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ०७७ असार ७ गते नै सबै स्थानीय तहलाई पठाएको चलानी नम्बर ५६८ को पत्र तथा असार ८ गते राजपत्रमा निकालिएको सूचना उल्लेख गरिएको भनिएको छ ।




संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा असार ७ गते पठाईएको पत्रमा स्थानीय तहले आफ्नो क्षेत्रमा खर्च नभई बचत भएको रकम एकिन गरेर निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने उल्लेख गरिएपनि उपमहानगरपालिकाले सो बारेमा कुनै चासो नलिएको च.नं. ३५ को भदौ ९ गते जिसस बाँकेको पत्रबाट प्रष्ट देखिन्छ । यसैबाट उपमहानगरले नगरबासीको स्वास्थ्यप्रति कुनै वास्ता नराखेको पनि प्रमाणित हुन्छ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तर खर्च नभएको रकमको निकासा माग गर्न प्रायप्त समय बाँकी रहँदै निर्देशक समितिले निर्णय गरेर जानकारी गराउँदा पनि किन बेवास्ता गरियो ? किन कोलेनिकालाई निकासा मागको दुई लाइनको एउटा पत्र लेखिएन ? महामारीको बेलामा एउटा सामान्य पत्र लेख्न उपमहानगरपालिकालाई कति दिन चाहिने हो ? खर्च नभएको रकम निकासाको प्रक्रिया बारे जानकारी माग्दा कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले असार १५ गतेभित्र सो कार्यालयमा रकम निकासा माग गर्नुपर्नेमा नेपालगन्ज उपमहानगरपालिका बाट कुनै माग नगरिएको हुँदा रकम निकासा नगरिएको जानकारी भदौ ८ गतेको चलानी नं. ९० को पत्र मार्फत प्रष्ट हुन जान्छ भनी प्रश्न गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगरबासी महामारीको चपेटामा परेको बेला स्थानीय तहको लापरवाहीले भेन्टिलेटर खरिद गर्ने सुवर्ण अवसर गुमेकोमा स्थानीयबासीसँग क्षमा माग्नु पर्नेमा दुई लाईनको रकम निकासा मागको पत्र लेखेर प्रचलित व्यवस्था अनुसार कोभिड–१९ को फ्रिज नहुने खातामा रकम जम्मा गरी खर्च गर्नुका सट्टा उल्टै फ्रिज नहुने रकमलाई दुई दिनमा कसरी खर्च हुन जान्छ भनेर विभिन्न किसिमको भ्रम छर्नु झनै खेदजनक भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य राईद्वारा जारी विज्ञप्तीमा उपमहानगरले खर्च नभएको रकम बारे मलाई जानकारी गराउनुपर्नेमा नगराएको म काठमाण्डौमा भएर पनि यसैका लागि आई एकदिन अगावै निर्णय गरेर जानकारी गराउँदा वास्ता नगरेको तर यही भएको व्यक्तिले उल्टै विभिन्न भ्रम छरेको उल्लेख गरिएको छ ।
यसैगरी नेपालगन्जमा जडान भईरहेको हाइमास्ट लाइटहरु म मन्त्री भएकै बेला शहरी विकास मन्त्रालय मार्फत २०७६ असार ३१ गते टेण्डर आह्वान भै नेपालगन्जका लागि वडा नं. १ देखि ८, वडा नं. ९ देखि १६ र वडा नं. १७ देखि २३ सम्म गरेर तीन प्याकेज तथा कोहलपुरका लागि एक प्याकेज गरि चार प्याकेजमा १३–१३ वटाका दरले टेण्डर भएको थियो । विभिन्न चौक, चौराहा, अस्पताल, पर्यटकीय स्थल र धार्मिक स्थलमा सो लाईट जडान गर्ने भनिए पनि उपमहानगरले विभिन्न होटल, व्यवसायिक प्रतिष्ठान र भनसुन गरेकाहरुको घरबस्ती नजिक जडान गर्ने निर्णय गरेकोमा खेद व्यक्त गर्दछु भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माथि उल्लेख गरिएको विषयवस्तुहरुमा पेश गरिएका प्रमाणहरुमा कही कुनै कुराहरुको प्रष्ट्याईका लागि आम नागरिकको बिचमा खुला बहस गर्न तयार रहेको उपमहानगरपालिकालाई चुनौती समेत दिन चाहान्छु तथा यदि सो सावित गर्न नसकेको अवस्थामा राजनीतिक जीवनबाट सदैवको लागि बिदा समेत लिनेछु भनी पूर्वमन्त्री राईले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद विजय यादव, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, जिल्ला अध्यक्ष कमरुद्दिन राई, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
