Monday, April 13सत्यम खबर
Shadow

त्रिभुवन चौकमा पुनः राष्ट्रपिता स्व. श्री ५ त्रिभुवनको प्रतिमा स्थापित

– मनोज कुमार कौशल
नेपालगञ्ज÷राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायत नारा लगाउँदै राजावादीहरुले राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित गरेका छन् ।
शनिवार दिन बिहान एक्कासी नेपालगञ्जको मुटु त्रिभुवनचोकमा राजावादीहरु निस्के । उनीको हातमा ग्लैण्डर, नेपालको राष्ट्रिय झण्डा, सिमेन्ट, बालुवाको बोरी थियो । केही बेरसम्म उनीहरुले राजा र हिन्दु राष्ट्रको समर्थनमा नारा लगाए यसबीच केहीहरु राष्ट्रिय झण्डा लागेको फलामे पाइप ग्लैण्डरबाट काटे र त्यहाँ स्व. त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा जुनकि उहाँको बाल्यकालको रंगीन प्रतिमा थियो पाइप काटेर त्यसमाथि प्रतिमाको स्थापना गरे ।

यस समयमा त्रिभुवनचोकमा राजावादी कार्यकर्ताहरुको ठूलो घुइँचो लाग्यो यस्ता राजावादीहरुमा नेपाल शिवसेनाका पूर्व नगर अध्यक्ष मंगल जिएम, शिवसेनाका पूर्व नगर अध्यक्ष विजय गुरुंग, राप्रपाका थुप्रै कार्यकर्ता त्यहाँ उपस्थित रहेको देखिए । केही बेरसम्म चोकमा सर्वसाधारणहरुलाई आवत जावत गर्न कठिनाई प–यो राजावादीहरुले यातायातका सवारी साधन त्यताबाट जान रोकेको देखियो । प्रतिमा स्थापित गर्ने समयमा ट्रकमा प्रहरीको जत्था आएको देखियो यस कारण केही बेरसम्म त्यहाँ ठूलो भिडन्त हुने अनुमान गरियो तर प्रहरीले प्रतिमा स्थापित गर्ने कार्यमा त्यति ठूलो बाधा अवरोध खडा गरेनन् । प्रहरी र राजावादीबीच केही समयका लागि चर्काचर्की भयो तर पछि साम्य भयो । यसबीच राप्रपा नेपालका थुप्रै स्थानीय नेता प्रतिमाको साथ फोटो सेशन गर्नमा लागे । यस्ता स्थानीय नेताहरुमा मनोज सिंह श्रेष्ठ लगायतहरु देखिए । निकै बेरसम्म राजा र हिन्दु राष्ट्रको समर्थनमा नाराबाजी गरियो । यस प्रतिमालाई जडान गर्नको लागि सिमेन्ट बालुवा मिसिएको मसला तयार पारी चारैतर्फबाट लगाइयो । यसरी यस ऐतिहासिक त्रिभुवन चोकमा पुनः एक पटक पुनःराष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित गर्न राजावादीहरुको समूहलाई सफलता मिलेको छ । २०६२–०६३ को जनआन्दोलन भाग–२ मा केही उच्छृंखल गणतन्त्रवादी शक्तिले राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन वीर विक्रम शाहदेव सरकारको प्रतिमा भत्काएका थिए सो पछि विभिन्न समयदेखि त्यहाँ मधेशी शहीद कमल गिरीको नाममा चोकको नामाकरण गर्ने प्रयास गरिएको थियो सो कार्य सफल नहुँदा त्यहाँ नेपालको अग्लो राष्ट्रिय झण्डा फहराइएको थियो । केही महिनादेखि नेपालमा राजसंस्था हिन्दु राष्ट्रको पुनस्थापनाको अभियान छेडिएकोले राजावादी समूह हौसिएका छन् । यो कार्य स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि राजनीतिक फाइदा पाउन तिव्र पारिएको देखिन्छ । स्थानीय निर्वाचनमा बढत बनाउन राप्रपा हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापनाको लागि आफ्नो प्रमुख अस्त्र बनाएको छ । यसै प्रकारको अभियान नेपालगञ्जमा अति नै सक्रिय रहेको हिन्दुवादी संगठन नेपाल शिवसेनाले पनि चलाएको छ । राप्रपाका नेता कमल थापा पार्टीबाट बाहिरिएपछि यहाँ राप्रपा परित्याग गर्नेहरुको संख्या बढेको छ । अहिले रोजिन्दा राप्रपाका कार्यकर्ता पार्टी परित्याग गरी रहेका छन् । यस कारण सो पार्टी अत्यन्त्र कमजोर स्थितिमा पुगेको छ । त्यसको कमजोरी केही दिनअघि राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तको अवसरमा आयोजित जुलुस –यालीमा देखियो । राप्रपाका कार्यकर्ताको सो कार्यक्रममा नगण्य रुपमा उपस्थिति रहेको देखियो तर शिवसेनाको जुलुस वृहत र भव्य थियो यसै –यालीमा राप्रपा विलिन भएको देखियो । अब स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि राप्रपा– मेयर, उपमेयर र २६ वटै वडामा वडाध्यक्ष वडा सदस्यमा आफ्नो उम्मेदवार खडा गर्ने तयारीमा जुटेको छ । यस समय नेपाल शिवसेनाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी रहेको बुझिएको छ यसको लागि नेपाल शिवसेनाले आफ्ना नेता दिवाकर खनाल र मंगल जिएमको नाम अगाडि उचालेको छ । यस सम्बन्धमा नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारसँग यसपत्रिकाले कुराकानी गर्दा उनले भने, राप्रपा र शिवसेनाको माग र उद्देश्य एउटै रहेपनि हामी बीच केही मतभिन्नता अवश्य छ अब हामी कसैको पक्षमा लागी आफ्नो अस्तित्व मेटाउने तर्फ लाग्दैनौं हामीले बराबरको भागिदारी पाउनु पर्छ हामी राप्रपासँग सहकार्य गरी स्थानीय निर्वाचन र सो पछि हुने संसदीय निर्वाचनमा भाग लिन तयार छौं । राप्रपाले हामीसँग सहकार्य गर्दैन भने शिवसेनाको समर्थनमा स्वतन्त्र उम्मेदवारी आफ्नो उम्मेदवारको अवश्य पर्छ यसको तयारीमा हामी लागेका छौं । तर यसबीच राजावादीहरुले स्व. त्रिभुवन सरकारको प्रतिमा स्थापित गरी जनताको समर्थन पाउने प्रयासमा लागेका छन् । विगत वर्षमा पनि राप्रपाले धम्बोझी चोकमा राष्ट्रनायक स्व. श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको प्रतिमा स्थापित गरेका थिए तर पछि सो प्रतिमा स्थानीय प्रशासनले खोलेर लगेको थियो । शनिवार दिन त्रिभुवन चोकमा स्व. त्रिभुवन सरकारको प्रतिमा स्थापित गर्ने कार्यक्रममा राजावादी समूहले देशका लोकतन्त्रवादी राजनीतिक दलले जनताको इच्छा आकाँक्षा अनुसार कार्य गरेर देखाउन सकेनन् यस कारण अब राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता अपरिहार्य बनेको छ । देशमा विदेशी शक्तिको उपस्थिति बढ्दै गएको छ यस कारण देश संकटमा पर्न थालेकोले हामी नेपाली अब चुप लागेर बस्ने अवस्था छैन हामी राष्ट्रलाई बचाउन राजा आऊ देश बचाऊ गुहार्न बाध्य बनेका छौं । हामी यसै प्रकारले आगामी समयमा पनि राजाको प्रतिमाहरु स्थापित गर्दै जाने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *