Friday, May 1सत्यम खबर
Shadow

उच्च शिक्षामा आर्कषण बढाउन छात्रालाई गाउँपालिकाको निःशुल्क साइकल

राप्तीसोनारी, १२ पौष – छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन राप्ती सोनारी गाउँपालिकाले निःशुल्क रुपमा साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आईतबारबाट साइकल वितरण सुरु गरेको हो ।
गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताउनु भयो । ‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिदै गर्दा साइकलको पनि हामीले महसुस् गरिम, बिद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जाान्छ, तब छात्राको संख्या घट्दै जान्छ,’ उहाँले भन्नुभयो ‘शिक्षामा अझै राम्रो सहज होस् भन्नका लागि राप्ती सोनारी गाउँपालिकाले साइकल वितरण कार्यक्रम राखेको हो ।’


गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटबाट छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनु भयो । ‘सुरुमा ७ सय ५० साइकल खरिद गर्ने योजना हामीले बनायौं, हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेपछि संख्या बढेर झण्डै १२ सय पुग्दैछ,’ अध्यक्ष थारुले भन्नुभयो । साइकल पाउने भएपछि डूपआउट भएका छात्रा पुनः बिद्यालयमा फर्किने र टाढाबाट बिद्यालय आवत जावत गर्ने अपेक्षा लिइएको उहाँ बताउनु हुन्छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्न करिव ६० लाख बजेट छुट्याइएको छ । ‘पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२ सय जति साइकल वितरण गरिनेछ,’ शाहीले भन्नुभयो । गाउँपालिकाले आईतबार पहिलो दिन मात्र नेरा माध्यामिक बिद्यालय अगैया र सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरमा अध्ययनरत १ सय ९० जना छात्रालाई साइकल हस्तान्तरण गरिसकेको जनाएको छ ।


छात्रालाई बिद्यालय शिक्षामा टिकाइ राख्न साइकल वितरण कार्यक्रम प्रभावकारी हुने सम्वद्ध सरोकारवालाले बताएका छन् । ‘बिद्यालय उमेरबाट नै छात्राले स्कुल छाड्ने गरेकाले गाउँपालिकाले ल्याएको यस्ता कार्यक्रम एकदमै उत्कृष्ट छन्,’ नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय अगैयाका शिक्षक विकास शर्माले भन्नुभयो ‘भौगोलिक हिसाबले धेरै टाढाबाट आउने छात्रालाई यसबाट धेरै राहत हुन्छ, भने साइकल पाउने आशाले पनि पढाईमा छात्राको आर्कषण बढ्छ ।’


आफ्नो बिद्यालयका ३२ जना छात्राले गाउँपालिकाबाट साइकल प्राप्त गरेको शिक्षक शर्माले सुनाउनु भयो । सरस्वती माध्यामिक बिद्यालय भवानीपुरका छात्रा सुस्मिता चौधरीले साइकल पाएपछि अब बिद्यालय आउन–जान धेरै सहज हुने प्रतिक्रिया दिनुभयो । ‘गाउँपालिकाबाट साइकल पाउँदा एकदमै खुसी लागेको छ, बिद्यालय जानका लागि अब हामीलाई धेरै सजिलो हुने भयो,’ उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शाही, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु लगायतले साइकल वितरण कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *